काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा अनधिकृत व्यक्तिको पहुँच बढेको भनी सामाजिक सञ्जालमा फैलिएको दाबी असत्य भएको स्पष्ट पारेको छ। आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका दाबीमा ध्यानाकर्षण भएको जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, “नागरिकका कानुन अनुसार गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षा सुनिश्चित गर्न आयोग प्रतिबद्ध छ। यसका लागि आयोगसँग सम्बद्ध सूचना प्रविधि विज्ञहरूले सूचना प्रणालीको निरन्तर अनुगमन गर्दै सुरक्षा जोखिम विश्लेषण गरी आवश्यक सबै उपायहरू अपनाइरहेका छन्।”
निर्वाचनको लागि कानुनी रूपमा निर्वाचन कार्यालय र राजनीतिक दललाई उपलब्ध गराइएको पीडीएफ फाइलमात्र मतदाता सम्बन्धी सूचनाको स्रोत भएको आयोगले जनाएको छ।
