काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले जेनजी आन्दोलनका अगुवाहरू नै छुट्टाछुट्टै दल दर्ताको होडबाजीमा लाग्न थालेपछि कडा असन्तुष्टि व्यक्त गरेका छन्। उनले यो प्रवृत्ति आन्दोलनको मूल उद्देश्यविपरीत रहेको भन्दै गम्भीर चिन्ता प्रकट गरेका हुन्।
मन्त्री पुनले सोमबार सामाजिक सञ्जालमा दल दर्तासम्बन्धी समाचार शेयर गर्दै साना–साना विषयमा नमिलेर छुट्टाछुट्टै दल खोल्न लागेको घटनालाई “घातक” भन्दै आलोचना गरेका छन्।
उनले लेखेका छन्, “१२३ दल दर्ता भइसके र ३२ दल दर्ताको प्रक्रियामा रे। यिनीहरूले आफूलाई पुर्ने खाल्डो आफैं खन्दैछन्।”
उनका अनुसार जेनजी आन्दोलनले देखाएको परिवर्तनको आशालाई नै यसले कमजोर बनाइरहेको छ।
पुनले चेतावनी दिँदै भनेका छन्, “यस्तै ताल रहे पुरानै राजनीतिक दल र तीमध्येका जाली–फटाहा नेताहरूको शासन फेरि फर्किन्छ। जेन–जी आन्दोलनको लक्ष्य तुहिन्छ।”
निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि हालसम्म १२३ दल दर्ता भइसकेका छन्, भने ३२ दल दर्ता प्रक्रियामा छन्। नयाँ दर्ता हुने दलहरूमध्ये केही जेनजी आन्दोलनका अगुवाहरू नेतृत्वमा रहेका छन्।
