शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

उपचारपछि फर्किएका देउवा सक्रिय, चुनावपछि महाधिवेशन उपयुक्त भन्दै कांग्रेस बैठकको मिति फेरबदल

सोमबार, मंसिर १ २०८२

काठमाडौँ । सिंगापुरमा १८ दिनसम्म उपचार गराएर स्वदेश फर्किनासाथ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सक्रिय राजनीतिक भेटघाटमा जुटेका छन्। भदौ २४ गते आफ्नै निवास बूढानीलकण्ठमा ‘जेन–जी’ प्रदर्शनकारीको कुटपिटबाट गम्भीर घाइते भएका देउवा कात्तिक १० गते पत्नी डा. आरजु राणा देउवासँग सिंगापुर उपचारका लागि प्रस्थान गरेका थिए ।

शुक्रबार राति काठमाडौं फर्किएका देउवाले भोलिपल्टैदेखि पार्टीभित्र चलिरहेको महाधिवेशनसम्बन्धी विवाद समाधानतर्फ भन्दै एकपछि अर्को नेतासँग छलफल सुरू गरे ।

शनिबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफल गर्दै देउवाले पार्टी प्रवक्ता तथा विश्वासपात्र डा. प्रकाशशरण महतसँग पनि भेट गरे। त्यसपछि साँझ संस्थापन पक्षका नेता एनपी साउद, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र महतसँग सामूहिक भेटवार्ता भयो। भेटमा देउवाले पार्टी विवाद समाधान र आसन्न निर्वाचनका लागि तयारीमा जोड दिनुभएको सहभागीहरूले बताए।

पार्टी प्रवक्ता डा. महतका अनुसार देउवाले ‘पहिले निर्वाचन तयारीमा लाग्नुपर्छ, विवाद तपार्इँहरूले मिलाउनुस्’ भन्ने सुझाव राखेका थिए ।उनको भनाइ सुन्दा चुनावपछि महाधिवेशन गर्न उपयुक्त हुने संकेत मिलेको बताइयो।

देउवाले आइतबार महामन्त्री विश्वप्रकाश शर्मालाई पनि बोलाएर पार्टीभित्रका मतभेद न्युनिकरणबारे छलफल गरेका थिए ।

कांग्रेसमा महाधिवेशन कहिले गर्ने भन्ने विषयमा तीव्र मतभेद छ। संस्थापन पक्षका शीर्ष नेता चुनावपछि महाधिवेशनको पक्षमा छन् भने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुपर्ने अडानमा छन्। संस्थापन इतरका नेता डा. शेखर कोइराला पनि चुनावअघि नै नियमित महाधिवेशन हुनुपर्ने पक्षमा रहँदै आएका छन्।

यसैबीच, संस्थापन पक्षभित्रसमेत एउटै मत देखिएको छैन। २४ केन्द्रीय सदस्यले चुनावअघि महाधिवेशन गर्न माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापनपत्र बुझाइसकेका छन्।

उता, सभापति देउवाले पूर्वपदाधिकारी तथा उक्त ज्ञापन बुझाउने २४ केन्द्रीय सदस्यसँग पनि छुट्टै भेट गरी विस्तृत जानकारी लिन तयारी गरिरहनुभएको बताइएको छ।

यसैबीच कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको मिति फेरि परिवर्तन गरिएको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंसिर १ गते बस्ने भनिएको बैठक अब मंसिर ४ गते बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको पौडेलले जानकारी दिएका छन् ।