शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

वैचारिक नेताहरूको निरन्तर बहिर्गमनले संकटमा रास्वपा

आइतबार, कार्तिक ३० २०८२

काठमाडौं । आमनिर्वाचन २०७९ मा ‘वैकल्पिक राजनीति’ को दाबी गर्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दिनानुदिन गहिरो संकटमा फसिरहेको देखिन्छ। कांग्रेस र एमालेजस्ता स्थापित दललाई प्रश्न उठाउँदै शक्ति–राजनीतिमा प्रवेश गरेको रास्वपा आफैँ आन्तरिक व्यवस्थापन, नेतृत्वशैली र वैचारिक दिशाको प्रश्नमा पलायन भइरहेको अनुभूति गराइरहेको छ।

रास्वपाभित्र पछिल्ला दिनमा देखिएको नेताहरूको राजीनामाको श्रृंखला पार्टीभित्रका संरचनागत कमजोरी, आन्तरिक असन्तुष्टि र नेतृत्वप्रतिको असन्तोषको संकेतका रूपमा व्याख्या भइरहेको छ।

स्थापना भएको पाँच महिनामै आठ प्रत्यक्ष र १३ समानुपातिकसहित प्रतिनिधिसभाको चौथो ठूलो दल बनेको रास्वपा चार वर्षमै छिन्नभिन्न हुने सङ्केतमा पुगेको राजनीतिक विश्लेषकहरूको आकलन छ।

वैचारिक मोर्चाबाटै असन्तुष्टि

शुक्रबार केन्द्रीय सचिवालय सदस्य तथा वैचारिक नेतामा गनिने सन्तोष परियार पार्टी छोडेर बाहिरिएका छन्। उनी यसअघि विघटित प्रतिनिधिसभामा प्रमुख सचेतकसमेत थिए। परियारले कसैप्रति आरोप नलगाए पनि वैकल्पिक राजनीति निर्माणका लागि गरिएको वैचारिक बहस पार्टीमा स्थापित हुन नसकेको उल्लेख गर्दै यो आफ्नो कमजोरी भएको बताए।

उनले नेपाली समाजको विशिष्ट चरित्रअनुसार पार्टी निर्माण गर्न नसकिएकोमा दुःखी भएकाे बताएका छन् ।

यसअघि असोज २९ गते पूर्वमन्त्री सुमना श्रेष्ठ पनि पार्टीबाट बाहिरिएकी थिइन्। श्रेष्ठले नेतृत्व व्यक्तिवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाउँदै, “पुराना दलका नेतामा देखिएको प्रवृत्तिलाई अस्वीकार गर्ने बताउँदा आफ्नै भित्र नयाँ ‘केपी’, नयाँ ‘शेरबहादुर’ र नयाँ ‘प्रचण्ड’ निर्माण गर्ने कोसिस हुँदैछ कि ?” भन्ने प्रश्न सार्वजनिक रूपमा उठाएकी थिइन्।

रास्वपाको चःमती, वनस्थलीस्थित कार्यालय रहेको घरका मालिक तथा पार्टी अनुशासन आयोगका पूर्व–प्रमुख भरतमणि देवकोटाले पनि १८ कात्तिकमा पार्टी त्यागेका छन्। आफू वृद्ध भइसकेकाले सक्रिय रहन नसक्ने कारण उल्लेख गरिए पनि लगातारै जना–जनाले छाड्दै गर्दा पार्टीको भवितव्यबारे गम्भीर संकेत देखिएको विश्लेषकहरूको भनाइ छ।

रास्वपाबाट सक्रिय, अध्ययनशील र वैचारिक रूपमा बलिया नेताहरू बाहिरिँदा पार्टीभित्र स्वतन्त्र वैचारिक बहस र भिन्न राजनीतिक धार निर्माण गर्ने वातावरण कमजोर भएको टिप्पणी राजनीतिक विश्लेषकहरूले गरेका छन्।

उनका अनुसार वैकल्पिक राजनीति गर्ने दाबी गर्ने पार्टीभित्र नै वैचारिक स्वतन्त्रता सुनिश्चित हुन नसक्दा ‘निष्कलंक’ व्यक्तिहरूका लागि पार्टीमा टिकिरहनै कठिन भइरहेको छ।

रास्वपाको सुरुवाती उछालसँगै देखिएको राजनीतिक तरंग अहिले आन्तरिक असन्तुष्टि, नेतृत्व शैलीप्रतिको प्रश्न र वैकल्पिकताको दाबी कमजोर बन्दै गएको कारण धुमिल हुँदै गएको विश्लेषण छ।

‘छोड्नुको कारण खोजौँ, आरोप नलगाऔँ’

रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी छाड्ने नेताहरूलाई दोषारोपण गर्नुभन्दा पार्टीभित्रका समस्याको मूल कारण पहिचान गर्न आवश्यक रहेको बताएका छन्।

सुमना श्रेष्ठपछि  सन्तोष परियारले पनि पार्टी त्यागेपछि लगातार बढ्दो बहिर्गमनप्रति ध्यानाकर्षण गर्दै कार्कीले नेताहरू किन जाँदैछन् भन्ने प्रश्न गम्भीर रूपमा खोजिनुपर्ने बताए।

उनले भने, “सन्तोषले दोस्रो पटक समानुपातिकमा बस्न नपाउने भएर छोड्यो भन्ने मानौँ, तर सुमना श्रेष्ठले त त्यस्तो नियम नै नभएको बेलामा किन छोडिन्? सांसद नै नभएका केन्द्रीय सदस्य डा. प्रभात र हरीले किन छोडे? अब त प्रत्यक्ष जितेकाले पनि छोड्लान्, तब के भन्ने?”

कार्कीका अनुसार पार्टीमा समस्याहरू छन् भने त्यसको समाधान सामूहिक रूपमा खोजिनुपर्छ। उनले जोड दिए, “समस्या छन्, समाधान खोजौँ। जानेलाई आरोप लगाउने होइन, छोड्नुको कारण बुझौँ। सामूहिक प्रयास र सामूहिक निर्णय–प्रक्रियाको अभ्यास गरौँ।”

२०७९ सालको निर्वाचनबाट रास्वपा रवि लामिछानेको नेतृत्वमा एकाएक उदाएको थियो ।

पार्टी छाड्नुका प्रमुख कारणहरू

आन्तरिक संवादको कमी – निर्णय प्रक्रियामा समावेशीताको अभाव महसुस भएको आरोप।

भूमिका र जिम्मेवारीप्रतिको असन्तुष्टि – केही नेताहरूले आफूलाई प्रयोग मात्र गरियो तर प्रभावकारी भूमिकाबाट वञ्चित गरियो भन्ने गुनासो।

पार्टीभित्रको गुटबन्दीको अनुभव – केही नेताहरूले नेतृत्व नजिकका व्यक्तिहरू मात्रै निर्णय–निर्माणमा प्रभावशाली रहेको बताउँदै आएका छन्।

पुनः समानुपातिक उम्मेदवारीमा रोक – सन्तोष परियारको हकमा दोस्रो पटक उम्मेदवार बन्न नपाउने कुराले असन्तुष्टि थपिएको विश्लेषण।