काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्ति प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै दायर गरिएको रिटको सुनुवाइ आज सर्वोच्च अदालतको संयुक्त इजलासमा हुँदैछ। सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले बुधबार उक्त रिट संयुक्त इजलासमा पठाउने आदेश दिएको थियो।
७ राजनीतिक दलका ७४ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका उपनेता युवराज भट्टराई, लोसपाका नेता जयलुन राइनसहितका प्रदेशसभा सदस्यहरूको हस्ताक्षर छ।
यसअघि मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रक्कीप्रसाद साह र सुजित यादवद्वारा दायर रिटमा प्रारम्भिक सुनुवाइ गर्दै मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्त्वका नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो।
संयुक्त इजलासमा आज हुने सुनुवाइले मधेश प्रदेशमा सरकार गठनको वैधानिकताबारे महत्वपूर्ण मोड ल्याउने अपेक्षा गरिएको छ।