बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

जेनजी आन्दोलनकाे बहानामा एमालेमाथि आक्रमण : अध्यक्ष ओली

शुक्रबार, कार्तिक २८ २०८२

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट बनेको सरकारबाट लोकतान्त्रिक मूल्य–मान्यताको अपेक्षा गर्न नसकिने टिप्पणी गरेका छन्। झापा जिल्लाका अगुवा कार्यकर्तासँग बिहीबार साँझ भर्चुअल रूपमा गरेको सम्बोधनमा उनले भदौ २३ र २४ गतेको “विध्वंस” पश्चात् गठित वर्तमान सरकारलाई गैर–लोकतान्त्रिक भन्दै कडा आलोचना गरे।

अध्यक्ष ओलीका अनुसार यस्तो सरकारबाट लोकतन्त्रप्रतिको प्रतिवद्धता खोज्नु नै गलत हो। उनले चुनाव गराउने भन्दै सरकारले घोषणा गरेको मिति नजिकिँदै जाँदा राजनीतिक दल र नेतामाथि लगाइएका आवागमन तथा प्रचार–प्रसार प्रतिबन्धले आगामी चुनाव स्वतन्त्र र निष्पक्ष नदेखिने दाबी गरे।

ओलीले भने, “यो सरकार चुनाव गराउने भन्छ तर नेताहरूलाई जिल्ला, निर्वाचन क्षेत्र र प्रचारमा जान नपाउने सीमाना तोक्छ। यस्तो अवरोधसहित कस्तो चुनाव सम्पन्न गर्न खोजिएको हो?” उनका अनुसार यो जनतालाई झुक्याउने योजनाबाहेक अरू केही होइन।

जेनजी आन्दोलनका नाममा एमालेमाथि गरिएको आक्रमण पनि पार्टीको राष्ट्रहित, विकास र समृद्धिप्रतिको कार्यशैलीलाई कमजोर पार्ने प्रयास भएको उनले आरोप लगाए। यस्तो चुनौती सामना गर्न एमाले सक्षम रहेको उनको भनाइ छ।

समाजमा बढ्दै गएको अराजकता रोक्न एमालेले देशभर ‘टोल सुरक्षा समिति’ गठन गरिरहेको बताउँदै अध्यक्ष ओलीले यस्ता समितीहरूले आपराधिक गतिविधि नियन्त्रण, संलग्न व्यक्तिलाई प्रहरीसमक्ष बुझाउने तथा समुदायमा सुरक्षाको वातावरण बनाउने कार्य गर्ने जानकारी दिए।

अध्यक्ष ओलीले गैरसंवैधानिक रूपमा विघटित प्रतिनिधि सभाको पुनर्स्थापनाका लागि व्यापक दबाब सिर्जना गर्न कार्यकर्तालाई निर्देशन दिए। उनको भनाइमा, प्रतिनिधि सभा पुनर्स्थापनाबाट लोकतान्त्रिक पद्धति पुनः सही मार्गमा फर्कनेछ।

बैठकमा अध्यक्ष ओलीले कात्तिक २९ गते झापामा आयोजना हुने जागरण सभालाई भव्य बनाउने तयारी गर्न भनेका थिए। झापा अध्यक्ष प्रेमबहादुर गिरीले भदौ २३–२४ को घटनापछि उत्पन्न अवस्थाबारे बैठकमा विस्तृत जानकारी गराएका थिए।