शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मधेश प्रदेशमा उपसभामुखले गरिदिइन् सभामुखको निर्णय बदर

शुक्रबार, कार्तिक २८ २०८२

जनकपुरधाम । मधेश प्रदेशसभामा सभामुख र उपसभामुखबीच अधिकार–संघर्ष देखा परेको छ।

सभामुख रामचन्द्र मण्डलले लगातार १० बैठकमा अनुपस्थित रहेको आधारमा पाँचजना सांसदलाई पदमुक्त गर्ने निर्णय लिएपछि उपसभामुख वविताकुमारी राउतले सो निर्णय बदर गरिदिएकी छन्।

सभामुख मण्डलले जनता समाजवादी पार्टी (जसपा) का चार र नागरिक उन्मुक्ति पार्टीकी एक सांसदलाई पद रिक्त घोषणा गरेका थिए। तर लगत्तै उपसभामुख राउतले सूचना जारी गर्दै सभामुखमाथि पदअनुकूल आचरण नगरेको अभियोगमा महाभियोग प्रस्ताव दर्ता भइसकेकाले उनको पद स्वतः रिक्त हुने उल्लेख गर्दै मण्डलको निर्णय अमान्य घोषित गरिदिएकी हुन्।

उपसभामुखले जारी गरेको सूचनामा भनिएको छ, “मधेश प्रदेश सभाको मिति २०८२/७/२२ को विश्वासको मत सम्बन्धी बैठकमा सो सूचनामा नाम उल्लेख गरिएका सबै माननीयहरू उपस्थित रहेको हाजिरी तथा भिडियो रेकर्डबाट प्रमाणित भएकाले पद रिक्तसम्बन्धी सूचना बदर गरिएको जानकारी गराइन्छ।”

सभामुख मण्डल एमालेबाट निर्वाचित हुन् भने उपसभामुख राउत जनमत पार्टीबाट निर्वाचित भएकी हुन्। सभामुखले पदमुक्त घोषणा गरेका सांसदहरूमा नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह तथा जसपाका मनिष कुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन सा कलवार र शारदा शंकर प्रसाद कलवार रहेका छन्।