शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

वीर अस्पतालमा १० प्रकारका श्वासप्रश्वास रोगको भाइरस एकैसाथ परीक्षण सुरु

बिहिबार, कार्तिक २७ २०८२

काठमाडौँ । वीर अस्पतालको मेडिकल जेनेटिक्स (अनुवांशिक) प्रयोगशालामा श्वासप्रश्वास सम्बन्धी १० प्रकारका रोगका भाइरसको एकै पटक परीक्षण सुरु गरिएको छ।

अस्पतालका मेडिकल अनुवांशिक विभागका प्रमुख डा. निलम ठाकुरका अनुसार, पहिले बिरामीको हरेक रोगको भाइरस फरक–फरक समयमा परीक्षण गर्नु पर्ने भएकाले रोग पत्ता लगाउन कठिनाइ हुन्थ्यो। अब एकै पटक १० वटा रोगका भाइरस परीक्षण गर्दा खर्च कम लाग्ने र कुन भाइरसले कुन रोग उत्पन्न गरेको स्पष्ट पत्ता लाग्ने भएको छ।

डा. ठाकुरले बताए अनुसार, भाइरसबाट रोग पहिचान भएपछी अस्पतालमै उपचार सुरु गरिनेछ। त्यस्तै, प्रयोगशालामा मस्तिष्क सङ्क्रमण सम्बन्धी ६ वटा भाइरसको परीक्षण पनि एकैसाथ सुरु गरिएको छ। फोक्सोबाहेक अन्य अंगमा लाग्ने क्षयरोगको परीक्षण पनि यहाँ गरिन्छ।

यो प्रयोगशाला विसं २०७३ मा अनुवांशिक रोगको पहिचान र उपचारका लागि स्थापना गरिएको हो। तर, जनशक्ति र उपकरण अभावका कारण दैनिक परीक्षण नियमित गर्न सकिएको छैन। डा. ठाकुरका अनुसार, अहिले प्रयोगशालामा केवल तीन जना जनशक्ति छन् र पर्याप्त उपकरण उपलब्ध नभएकाले परीक्षण पालोअनुसार सञ्चालन भइरहेको छ।

हाल, प्रयोगशालामा २५ प्रकारका अनुवांशिक रोगका भाइरसको नियमित परीक्षण भइरहेको जानकारी दिइएको छ।