शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

बिहिबार, कार्तिक २७ २०८२

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई आज गृह मन्त्रालयमा आयोजित समारोहमा दर्ज्यानी चिन्ह (फुली) प्रदान गरिएको छ। गृह सचिव रामेश्वर दंगालले कार्कीलाई औपचारिक रूपमा चिन्ह लगाइदिएका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३ औं महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

कार्यक्रममा बोल्दै आईजीपी कार्कीले प्रहरीको मनोबल बढाउँदै संगठनलाई सुढृढ नेतृत्व र सामूहिक भावना अनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले आफूले पाएको जिम्मेवारी पारदर्शिताका साथ पूरा गर्ने धारणा व्यक्त गरेका छन्।

पूर्व आईजीपी चन्द्रकुवेर खापुङको ३० वर्षे सेवा अवधि बुधबार सकिएपछि उनी अनिवार्य अवकाशमा गएका थिए।

दानबहादुर कार्कीले २०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए। ३० वर्षे सेवा अवधि कायम रहेर उनी २०८४ चैतसम्म प्रहरी महानिरीक्षक पदमा रहनेछन्। हालसम्म उनी उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुखको जिम्मेवारीमा थिए। जेन–जी आन्दोलनपछि उपत्यकाको कमाण्ड सम्हाल्न उनले २४ भदौमा उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए।

आईजीपी कार्कीले ०८२ वैशाख १५ मा डीआईजीबाट एआईजीमा बढुवा पाए र ६ महिनापछि महानिरीक्षक पदमा बढुवा भएका हुन्।

कार्की प्रहरी संगठनमा कुशल र क्षमतावान अधिकृतका रूपमा परिचित छन्। उनलाई आईजीपी बनाउन गृहमन्त्री ओमप्रकाश अर्यालले सिफारिस गरेका थिए।

महानिरीक्षकमा कार्कीसहित एआईजीहरू राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह प्रतिस्पर्धामा थिए। उनीहरूमध्ये कार्की, अधिकारी र केसी चैत २०५४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए।

कार्की २०६६ मंसिरमा डीएसपी, २०७४ साउनमा एसपी, २०७९ साउनमा एसएसपी, २०८१ कात्तिकमा डीआईजी, र २०८२ वैशाखमा एआईजीमा बढुवा भएका थिए।