काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युत् बक्यौता असुली प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको बताएका छन्।
उनका अनुसार, विगतमा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण असुली प्रभावित भए पनि अब त्यो समस्या हटेको छ।
मन्त्री घिसिङले सामाजिक सञ्जालमा लेखेका छन्, “विगतमा आम सर्वसाधारण लोडसेडिङको अँध्यारोमा रहेका बेला डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गर्ने उद्योगहरूले तोकिएको प्रिमियम महसुलको बक्यौता रकममध्ये पहिलो किस्ता अधिकांशले भुक्तानी गरेका छन्। यससँगै राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुली अब नयाँ चरणमा प्रवेश गरेको छ।”
उनका अनुसार, नेपाल विद्युत् प्राधिकरणले कानुनसम्मत रूपमा पटक–पटक चालेका कदमहरूमा राजनीतिक हस्तक्षेप हुँदा असुलीमा अवरोध भएको थियो, जसले यो विषयलाई राष्ट्रिय सरोकारको मुद्दा बनाएको हो।