बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कथाकार यक्सोको ‘पेनिबा’ सार्वजनिक

बुधबार, कार्तिक २६ २०८२

काठमाडौँ, २५ कात्तिक । युवा कथाकार सुरेश यक्सोको कथासङ्ग्रह ‘पेनिबा’ मंगलबार काठमाडौँमा एक विशेष समारोहबीच विमोचन गरिएको छ। मैयुङट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्र तथा सभ्यता अन्वेषण केन्द्रद्वारा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो।
सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्बाङ (वैरागी काइँला)ले ‘पेनिबा’ आधुनिक नेपाली समाज र प्रवासी नेपालीको जीवनको सशक्त प्रतिविम्ब भएको बताएका छन्। उनले भने, “सुरेश यक्सो केवल कथाकार मात्र होइन, उहाँ कवि र साहित्यिक अभियन्ता पनि हुनुहुन्छ। उहाँका कथाहरू सरल भाषामा भए पनि भाव, संवेदना र मनोविज्ञानले भरिएका छन्।”

पूर्वकुलपति नेम्बाङले यक्सोको लेखन शैली धनकुटाको पहाडी भूगोल र जनजीवनसँग घनिष्ठ रहेको उल्लेख गर्दै पेनिबा याकथुङ समुदायको सांस्कृतिक पहिचान बोकेको दस्तावेज भएको बताए। यस कथासङ्ग्रहले गाउँको पुरानो जीवनशैली, मानवीय सम्बन्धको दूरी र आधुनिकताको प्रभावलाई चित्रण गरेको उनको विचार छ।

नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङले पेनिबा नेपाली समाजको पहिचान र विविधताको दर्पण भएको बताए। उनले भने, “पेनिबाले नेपालीपनलाई पुनः अनुभूति गराउँछ। यो केवल मनोरञ्जनका लागि लेखिएको कथा होइन, हाम्रो समाजको आत्मपरक कथा हो।”
प्राज्ञ तथा वरिष्ठ कवि श्रवण मुकारुङले कथाकार सुरेश यक्सोलाई नेपाली साहित्य क्षेत्रका उदीयमान र बहुप्रतिभाशाली युवा कथाकारको रूपमा चिनाउँदै पेनिबा ले देश–विदेशको परिवेश झल्काएको बताए।

लेखक तथा समालोचक डा. तुलसी गौतम र कवि–कथाकार वीना थिङले कथाको विषयवस्तु, शैली र संरचनालाई उच्च मूल्याङ्कन गर्दै प्रेम, पीडा, सङ्घर्ष र पहिचानको खोज जस्ता विषयहरू सशक्त रूपमा प्रस्तुत भएको टिप्पणी गरे।

सभ्यता अन्वेषण केन्द्रका अध्यक्ष शशी सुलुम्बुले सुरेश यक्सो जस्ता नयाँ पुस्ताका सिर्जनात्मक प्रयासहरूले नेपाली कथालेखनलाई नयाँ दिशातर्फ डो¥याउने विश्वास व्यक्त गरे।

समारोहमा सांस्कृतिक विविधता झल्काउने च्याब्रुङ नृत्यसमेत प्रस्तुत गरिएको थियो। विमोचन कार्यक्रममा साहित्य, कला, संस्कृति, शिक्षा र सुरक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिती रहेको थियो।