बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यो वर्षकाे मनसुनमा जनधनको क्षति घट्यो, गत वर्षको तुलनामा आधा कम

बुधबार, कार्तिक २६ २०८२

काठमाडाैं । गत वर्षको तुलनामा यस वर्ष मनसुन अवधिमा जनधनको क्षति उल्लेखनीय रूपमा घटेको देखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा दुई हजार एक सय ३९ विपदजन्य घटना दर्ता भएका थिए भने चालु वर्ष २०८२ मा एक हजार चार सय ५४ घटना मात्रै भएका छन् ।

प्राधिकरणका तथ्यांकअनुसार, गत वर्ष विपद्का कारण चार सय ९५ जनाले ज्यान गुमाएका थिए भने यस वर्ष मृत्यु हुने संख्या घटेर एक सय ४० मा सीमित भएको छ । त्यस्तै, बेपत्ता हुने संख्या पनि ६६ बाट घटेर ३० पुगेको छ । गत वर्ष पाँच सय २२ जना घाइते भएका थिए भने यस वर्ष तीन सय जना मात्र घाइते भएका छन् । प्रभावित घरपरिवारको संख्या पनि गत वर्षका १० हजार आठ सय २३ बाट घटेर पाँच हजार नौ सय ९५ पुगेको छ ।

यस वर्ष बाढीका दुई सय ९२, पहिरोका पाँच सय १३, भारी वर्षाका तीन सय ९७ र चट्याङका दुई सय ५२ घटना दर्ता भएका थिए । बाढीका कारण ३७ जनाको मृत्यु, २६ जना बेपत्ता र १४ जना घाइते हुँदा तीन हजार दुई सय घरपरिवार प्रभावित भएका छन् । यस्तै, पहिरोमा ६७ जनाको मृत्यु, चार जना बेपत्ता र ७७ जना घाइते भएका छन् । भारी वर्षाले सात जनाको ज्यान लिएको छ भने चट्याङमा २९ जनाको मृत्यु र एक सय ८९ जना घाइते भएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, यस वर्ष मनसुन २०८२ जेठ १५ गते नेपाल प्रवेश गरी असोज २४ गते अन्त्य भएको हो । कुल १३५ दिनको मनसुन अवधिमा एक हजार ३७५.४ मिलिमिटर वर्षा भएको थियो, जुन औसत वर्षाको ९७.२३ प्रतिशत हो । औसतभन्दा बढी वर्षा भए पनि क्षति विगत वर्षभन्दा कम भएको प्राधिकरणको निष्कर्ष छ ।

मनसुन अवधिमा इलाम सबैभन्दा बढी प्रभावित जिल्ला बनेको छ, जहाँ ३९ जनाले ज्यान गुमाएका छन् । सरकारका अनुसार, इलामलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । रसुवाको भोटेकोशी बाढीमा १८ जना बेपत्ता भएका थिए, जसमा ११ जनाका शव फेला परेका छन् । बाढीले मितेरी पुल, सुक्खा बन्दरगाह र तीन जलविद्युत् आयोजना बगाएको थियो ।

त्यस्तै, मनसुनको सुरुवातमा मधेश प्रदेशमा सुक्खाको समस्या देखिएको थियो, जसका कारण सरकारले साउन ८ गते तीन महिनाका लागि सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । प्राधिकरणका अनुसार, यस वर्ष क्षति घट्नुको कारण सरकारद्वारा पारित ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ प्रभावकारी कार्यान्वयन हो । कार्यकारी प्रमुखको नेतृत्वमा स्थापना गरिएको कमाण्ड सेन्टरले लगातार ३८ घण्टासम्म सरोकारवालाहरूसँग समन्वय गरेको थियो ।

१० वर्षको तथ्यांक

०७४ मा ६२४ घटना — २८९ मृत्यु,
२०७५ मा ६९३ घटना — १२२ मृत्यु,
२०७६ मा ८४६ घटना — २०३ मृत्यु,
२०७७ मा १०१५ घटना — ३८२ मृत्यु,
२०७८ मा ७३७ घटना — १६५ मृत्यु,
२०७९ मा ७१२ घटना — १७९ मृत्यु,
२०८० मा ८९१ घटना — ९२ मृत्यु,
२०८१ मा २१३९ घटना — ४९५ मृत्यु र
२०८२ मा १४५४ घटना — १४० जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

यसरी पछिल्ला वर्षहरूमा विपदजन्य घटनाको आवृत्ति घट्दै गएको देखिए पनि, जलवायु परिवर्तन र भूगोलजन्य जोखिमका कारण निरन्तर सचेतना र पूर्वतयारी आवश्यक रहेको विज्ञहरूले सुझाव दिएका छन् ।