काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पार्टीको सानेपा केन्द्रीय कार्यालयमा बस्ने भएको छ।
पार्टीका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन रोकिएको बैठक आज पुनः सुरु हुन लागेको हो।
गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव पारित गरेको थियो।
जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको विश्लेषण गर्दै राजनीति र देशको भविष्यमा पार्टीको भूमिका तय गर्ने र आगामी रणनीतिक बाटो तय गर्ने उद्देश्यले असोज २८ गते सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक अझै सकिएको छैन।
कांग्रेसभित्र पार्टीको १५औँ महाधिवेशन नियमित गर्ने कि विशेष महाधिवेशन गर्ने, र सरकारले फागुन २१ मा निर्वाचन मिति तोकेपछि महाधिवेशन गर्ने कि निर्वाचनपछि गर्ने भन्नेबारे चर्को बहस भइरहेको छ। यो विषयमा कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।