काभ्रेपलाञ्चोक । जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटका घटनामा बनेपाबाट फरार पाँच प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
गत भदौ २४ गते इलाका प्रहरी कार्यालय बनेपामा भएको तोडफोडको घटनाका बेला हिरासतबाट भागेका १२ मध्ये पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
पक्राउ पर्नेहरुमा सरोज पोडे, पनौती नगरपालिका–४, २८ वर्ष, उत्तमबहादुर तिमल्सिना, पनौती नगरपालिका–९, ३३ वर्ष,
नरबहादुर लुङ्गेली, रोशी गाउँपालिका–९, ४६ वर्ष,प्रविन मगर, खोटाङ जन्तेढुङ्गा गाउँपालिका–६, २३ वर्ष (जबर्जस्ती करणीमा मुद्दा चलाइएका), भीमबहादुर सुनार, रोशी गाउँपालिका–१, ३२ वर्ष (सवारी अङ्गभङ्गमा हिरासतमा रहेर फरार) रहेका छन् ।
प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार, पोडे, तिमल्सिना र लुङ्गेलीलाई क्रमशः पनौती नपा–७ र रोशी–९ बाट, मगरलाई घरबाट र सुनारलाई बनेपा नपा–८ बाट पक्राउ गरिएको हो। उनीहरूलाई सोमबार पुनः हिरासतमा पठाइएको र मुद्धाबारे थप अनुसन्धान भइरहेको छ।
यसअघि जेनजी आन्दोलनका क्रममा जिल्लामा सरकारी तथा निजी भवन र सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाटमा संलग्न सात जना पक्राउ परेका थिए।
प्रहरी उपरीक्षक कोमल शाहका अनुसार, जिल्लाका विभिन्न स्थानमा भएको आगजनी र लुटपाटको उजुरीको आधारमा विशेष अनुसन्धान सुरु गरिएको छ।
कार्यालयले इलाका प्रहरी कार्यालय बनेपा तोडफोड, आगजनी र लुटपाटमा संलग्न ११ जनालाई कारबाहीसहित थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रदर्शनका क्रममा काभ्रेपलाञ्चोकमा १८ वटा सरकारी तथा निजी संरचनामा क्षति पुगेको थियो।
त्यसैगरी, जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका ५३ कैदीबन्दीलाई पनि प्रहरीले पक्राउ गरी जिल्ला कारागार धुलिखेलमार्फत सम्बन्धित कार्यालय पठाएको छ।