काठमाडौँ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीलाई नेपाल प्रहरीको ३३औं महानिरीक्षक (आइजीपी)मा नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई प्रहरीको सर्वोच्च पदमा नियुक्त गरेको हो। हाल उनी काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख रहेका छन्।
प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा भएपछि वर्तमान आइजीपी चन्द्रकुबेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने भएका छन्। खापुङको अवकाशसँगै कार्कीले कात्तिक २७ गतेदेखि प्रहरी नेतृत्व सम्हाल्ने छन्।
आइजीपी बन्नका लागि चार एआइजीहरू – दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह दौडमा थिए। तीमध्ये कार्कीका प्रमुख प्रतिस्पर्धी मनोज केसी रहे पनि अन्ततः कार्कीले बाजी मारेका छन्।
गुल्मी जिल्ला मालिका गाउँपालिका, घमिर निवासी कार्कीको जन्म २०२९ साउन १५ गते भएको हो। उनले २०५४ चैत १८ गते प्रहरी निरीक्षकका रूपमा सेवा आरम्भ गरेका थिए।
२०६६ मंसिर २६: प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा
२०७४ साउन १९: प्रहरी उपरीक्षक (एसपी)मा बढुवा
२०७९ साउन ३: वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा
२०८१ जेठ १३: प्रहरी नायब महानिरीक्षक (डीआइजी)मा बढुवा
२०८२ वैशाख ११: प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा
एसएसपीका रूपमा उनले काठमाडौं प्रहरी परिसरका प्रमुखका रूपमा कार्य गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढाएका थिए। सो प्रकरणमा अनुसन्धान र मुद्दा दर्ता कार्कीको कार्यकालमै भएको हो।
डिआइजीमा बढुवा भएपछि कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा राखिएको थियो, जहाँ उनले केन्द्रीय प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए।
कार्कीले मानविकी तथा समाजशास्त्र, शिक्षा र कानुन विषयमा स्नातक तह पूरा गरेका छन् भने राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन्।
उनी संयुक्त राष्ट्रसंघ (यूएन) मिसनअन्तर्गत पूर्वी टिमोरमा दुईपटक (३ वर्ष) र हाइटीमा एकपटक (१८ महिना) कार्यरत रहे। टिमोरमा रहँदा उनले संयुक्त राष्ट्रसंघ पदक र तीन पटक प्रशंसापत्र प्राप्त गरेका थिए।
कार्कीलाई नेपाल सरकारले ‘प्रबल जनसेवा श्री’ पदक प्रदान गरेको छ।
नेपाल प्रहरीले पनि उनलाई १४ पटक नगद पुरस्कारसहित अभिलेखीय सम्मान दिएको छ।
आइजीपी कार्कीको कार्यकाल अबको प्रहरी नेतृत्वलाई प्रशासनिक अनुशासन, अनुसन्धान सुदृढीकरण र सार्वजनिक सुरक्षामा केन्द्रीत हुने अपेक्षा गरिएको छ।