शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मंगलबारको व्रत : गणेश र हनुमानको आराधनाका साथ शुभ फल प्राप्ति

मंगलबार, कार्तिक २५ २०८२

काठमाडौँ । हिन्दू धर्मअनुसार मंगलबार विशेष रूपमा गणेश भगवानको पूजा–आराधना गर्ने दिन मानिन्छ। यस दिन काली माता, दुर्गा माता र हनुमानजीको पनि पूजा गर्ने परम्परा रहँदै आएको छ।

मंगलबार व्रत बस्नेहरूले बिहानको खाना नखाने र साँझको भोजनमा नुन नखाने धार्मिक नियम रहेको छ। यस व्रतबाट सुख–समृद्धि, शत्रु विजयी, रक्तविकार शमन, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिजस्ता फल प्राप्त हुने विश्वास गरिन्छ।

यो व्रत शुक्ल पक्षको पहिलो मंगलबारदेखि सुरु गरी कम्तीमा २१ मंगलबारसम्म पालन गर्ने प्रचलन छ, भने सक्नेले जीवनभर निरन्तर राखे अझ उत्तम मानिन्छ। व्रतका क्रममा गहुँ र सख्खरको भोजन, रातो कपडा धारण तथा रातो फूल, फलफूल, तामा र नरिवल दान गर्ने परम्परा छ।

गणेश भगवानको आराधना गर्दा ‘ऊँ भौमाय नमः’ मन्त्रको ५ माला जप गर्नुपर्ने धार्मिक विधान रहेको छ। यस व्रतले मंगल ग्रहका प्रतिकूल प्रभावहरूलाई शान्त गर्ने विश्वास गरिन्छ।

मंगलबारको दिन हनुमानजीको उपासना पनि विशेष फलदायी मानिन्छ। पौराणिक ग्रन्थहरूका अनुसार हनुमान ‘सर्वग्रहविनाशिने’ तथा ‘रक्षोविद्यवंशकारकाय’ हुन्—सबै ग्रहहरूभन्दा बलवान र रक्षकदेवता।

हनुमानलाई छलकपटरहित, निष्कपट हृदयका देवता तथा आजीवन ब्रह्मचारी योगीका रूपमा मानिन्छ। व्रत कथाअनुसार, एक ब्राह्मणीले हनुमानको उपासना गरेर ‘मंगल’ नामक पुत्र प्राप्त गरेकी थिइन्, त्यसैले मंगलबारको व्रतलाई पुत्रप्राप्तिको प्रतीक पनि मानिन्छ।