जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गर्न लागेपछि जनकपुरधाम तनावग्रस्त बनेको छ।
मुख्यमन्त्री नियुक्तिको विरोधमा उत्रिएका विपक्षी दलका कार्यकर्ताहरूले प्रदेशका विभिन्न मन्त्रालयमा तोडफोड तथा तालाबन्दी गरेका छन्। उनीहरूले फर्निचरलगायत सामग्री नष्ट गरेका र बजारका ठाउँ–ठाउँमा टायर बाल्दै विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी र नवनियुक्त मुख्यमन्त्री यादवको विरोधमा नाराबाजी गरेका छन्।
आज बिहान प्रदेश प्रमुख भण्डारीले एमाले प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि विरोध तीव्र भएको हो।
यसैबीच, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश संसदीय दलका नेता जेनुल राइनले मुख्यमन्त्री नियुक्तिमा प्रदेश प्रमुखको भूमिका शङ्कास्पद रहेको आरोप लगाउँदै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने घोषणा गरेका छन्।
उता, जिल्ला प्रशासन कार्यालय धनुषाले संयमित भएर विरोधका कार्यक्रम गर्न आग्रह गरेको छ। प्रशासनले तनाव कम गर्न अधिकतम प्रयास भइरहेको र जनधनको क्षति हुन नदिन सघन सुरक्षा सतर्कता अपनाइएको जनाएको छ।