शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग

आयोगमा १२५ राजनीतिक दल दर्ता

सोमबार, कार्तिक २४ २०८२

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका तयारीका विषयमा पूर्वप्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूसँग छलफल गरेको छ।

सोमबार बिहान आयोग कार्यालयमा सम्पन्न छलफलमा आयोगले आगामी फागुन २१ गते तय भएको निर्वाचनका लागि अपनाउनुपर्ने रणनीति र सावधानीका विषयमा सुझाव लिएको हो।

छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकीकुमारी तुलाधार, सगुन शमशेर जंगबहादुर राणा सहभागी थिए।

त्यसैगरी पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, पूर्वआयुक्त दोलखबहादुर गुरुङ, पूर्वसचिव सुरेश अधिकारीलगायतका उपस्थित रहे।

आयोगका अनुसार छलफलको उद्देश्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन पूर्वअधिकारीहरूको अनुभव र सुझाव लिनु रहेको हो।

आयोगमा १२५ राजनीतिक दल दर्ता

निर्वाचन आयोगका अनुसार हालसम्म आयोगमा १२५ राजनीतिक दल दर्ता भएका छन्।

आयोगका सचिव पन्थका अनुसार चालु आर्थिक वर्षमा मात्र तीन नयाँ दलले दर्ता प्रक्रिया पूरा गरेका छन्, भने केही दलहरू अझै दर्ता प्रक्रियामा रहेका छन्।

आयोगमा सोमबार पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग भएको छलफलका क्रममा सचिव पन्थले प्रतिनिधि सभा निर्वाचनका लागि अनुकूल वातावरण निर्माणका विषयमा आयोगले खेलेको भूमिका र आगामी रणनीति प्रस्तुत गरेका थिए।

उनका अनुसार निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन, निष्पक्ष निर्वाचनका लागि आवश्यक समन्वय र सुरक्षाका उपायहरूबारे छलफलमा महत्त्वपूर्ण सुझावहरू प्राप्त भएका छन्।