काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी फागुन २१ गते हुने निर्वाचनले संविधानलाई सही मार्गमा फर्काउने विश्वास व्यक्त गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै उनले निर्वाचनबाट नयाँ संसद् गठन भई देश संविधानअनुरूप अघि बढ्ने बताए। महामन्त्री थापाले लेखेका छन्, “संविधानलाई सही मार्गमा ल्याउने फागुन २१ को निर्वाचन मात्र एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन।”
उनका अनुसार पार्टीको आधिकारिक निर्णय प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा स्पष्ट रूपमा प्रस्तुत भइसकेको छ।
थापाले कांग्रेसको केन्द्रीय कार्यसमितिमा भइरहेको केही अलमल निर्वाचनका कारण नभएको स्पष्ट पार्दै पार्टीलाई निर्वाचनका लागि सक्षम बनाउन अधिवेशन अपरिहार्य रहेको बताए ।
“निर्वाचनअघि पार्टीको अधिवेशन गरेर त्यसबाट आउने नीति र नेतृत्वले मात्र नेपाली कांग्रेसलाई चुनावमा प्रतिस्पर्धा गर्न योग्य र एकजुट बनाउन सक्छ।” उनकाे भनाइ छ ।