काठमाडौं । घनश्याम भुसाल नेतृत्वको समूहले पनि नेकपा (एकीकृत समाजवादी) परित्याग गरेको छ। पार्टी पुनर्गठनको तयारी गर्दै आएको भुसाल समुहले नयाँ नाम र चुनाव चिह्नसहित आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको हो।
पूर्व महासचिव भुसाल पक्षका नेता डा. विजयकुमार पौडेलको नेतृत्वमा आयोग पुगेको टोलीले नयाँ दल दर्ताको प्रस्ताव दर्ता गराएको हो। भुसाल समूहले नयाँ दलको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (वामपन्थी केन्द्र)’ प्रस्ताव गरेको छ भने चुनाव चिन्हका रूपमा ‘सूर्यमुखी फूल’ दर्ता गर्न माग गरिएको छ।
नयाँ दलको २६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ, जसमा राजकुमार कक्षपती संयोजक रहेका छन्।
स्रोतका अनुसार भुसाल समूहले यो दललाई ‘ब्याकअप’ का रूपमा दर्ता गराएको हो, ताकि कानुनी जटिलता उत्पन्न भए पनि आफ्नो राजनीतिक अस्तित्व कायम रहोस्।
नेकपा (एकीकृत समाजवादी)का अधिकांश सदस्यहरू अन्य वाम घटकहरूसँग मिलेर नयाँ ‘नेपाली कम्युनिष्ट पार्टी’मा समाहित भएपछि भुसाल समूहलाई आयोगले मान्यता नदिने सम्भावना देखिएपछि वैकल्पिक दल दर्ता गरिएको बताइएको छ।