काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन सञ्चार माध्यमहरूले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
आईतवार सार्वजनिक सेवा प्रसारण तथा एनटिभी वर्ल्डको औपचारिक शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले सुशासन र विकासप्रतिको युवा पुस्ताको चाहनालाई सम्बोधन गर्ने उद्देश्यले सो निर्वाचन घोषणा गरिएको उल्लेख गरे ।
राष्ट्रपति पौडेलले सञ्चार माध्यमहरू लोकतन्त्र र संविधानलाई सुदृढ बनाउने दिशामा क्रियाशील हुनुपर्नेमा जोड दिए । उनले भने, “युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन सञ्चार माध्यमहरूले अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने आजको आवश्यकता हो ।”
सरकारी सञ्चार माध्यमहरूले लोकतन्त्रको सुदृढीकरणमा बढी योगदान पुर्याउनुपर्ने आवश्यकता रहेको बताउँदै राष्ट्रपति पौडेलले सही सूचना जनतासमक्ष पुर्याउने कार्यमा गम्भीरता आवश्यक रहेको पनि उल्लेख गरे ।
त्यस अवसरमा उनले नेपालको संस्कृति, भेषभूषा, भौगोलिक विविधता, प्राकृतिक सौन्दर्यता, पर्यटन, धार्मिक तथा सांस्कृतिक धरोहर र नविन सोचलाई विश्वसामु चिनाउन एनटिभी वर्ल्डले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।