कैलाली । पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान तरकारी बोकेको लु२च २३५८ नम्बरको जिपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
साइकलयात्री, बर्दगोरिया गाउँपालिका–६, कोटा तुल्सीपुरका ५५ वर्षीय शङ्कर डगौरा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएको थियो, तर चिकित्सकले मृत घोषणा गरे।
घाइते अन्य तीन जनामा पैदलयात्री घोडाघोडी–२, साडेपानीका ५४ वर्षीय पदमबहादुर शाही, बर्दगोरिया–६, कोटा तुल्सीपुरका ४५ वर्षीय हर्कबहादुर डगौरा र २५ वर्षीय कृष्ण डगौरा छन्। उनीहरूको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ भने पदमबहादुर शाहीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ।
जिप र चालक रोल्पा, त्रिवेणी गाउँपालिका–४ का २३ वर्षीय सन्तोष घर्तीमगरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ।