दाङ । दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु भएको छ।
गढवा–४ अजगढवाका शिवकुमार यादवकी छोरी जमुना यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए।
उनका अनुसार कात्तिक २० र २१ गते सञ्चालन गरिएको राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीबार गढवा–४ रामनगरमा औषधि खुवाउने क्रममा बालिकाको घाँटीमा औषधि अड्किएपछि सास रोकिएर केही मिनेटमै उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
महिला स्वास्थ्य स्वयंसेविकाद्वारा खुवाइएको औषधि अड्किएपछि बालिकालाई श्वासप्रश्वासमा समस्या भएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक बमका अनुसार शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पोष्टमार्टम गरी परिवारलाई बुझाइएको छ। उनले घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको र पोष्टमार्टम प्रतिवेदन आएपछि घटनाको पूर्ण विवरण स्पष्ट हुने बताए। साथै, उनले यस्ता औषधि खुवाउँदा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिए।