गोरखा । सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित १७ जना यात्रु घाइते भएका छन्।
भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा४ख ६०४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।
दुर्घटनामा परी आठ वर्षीया स्वरिनल चौधरी, ४३ वर्षीया लक्ष्मी चौधरी र ३६ वर्षीया पवित्रा महतो गम्भीर घाइते भएका छन्। अन्य घाइतेहरूको पनि उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइतेमध्ये अधिकांश चितवनको खैरेनी नगरपालिका निवासी हुन्। दुर्घटनाग्रस्त माइक्रोबसमा १९ जना यात्रु सवार रहेका थिए।