बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

घनश्याम भुसालको संयोजकत्वमा एकीकृत समाजवादी पुनर्गठन

माओवादी केन्द्र र विप्लवसँग सहकार्यको तयारी 

आइतबार, कार्तिक २३ २०८२

काठमाडौँ । एकता विवादका कारण विभाजित नेकपा (एकीकृत समाजवादी) को पुनर्गठन पक्षधर समूहले घनश्याम भुसाललाई पार्टी संयोजक तोकेको छ। विभाजनपूर्व उनी पार्टीका महासचिव थिए।

शनिबार राति ६७ जना केन्द्रीय सदस्य सहभागी भएको भर्चुअल (जुम) बैठकले भुसाललाई संयोजक तोकेको बैठकमा सहभागी केन्द्रीय सदस्य अमृतसागर बस्नेतले जानकारी दिए।

बैठकले पार्टीको नाम, झण्डा र चुनाव चिह्न यथावत राख्ने निर्णय गरेको छ। तर, कानूनी र संसदीय व्यवस्थासम्बन्धी विषयलाई अध्ययन गरी आवश्यकताअनुसार अघि बढ्ने निष्कर्षमा पुगेको बस्नेतले बताए।

विशेष महाधिवेशनअघि मंसिर महिनामै राष्ट्रिय भेला आयोजना गर्ने तयारी पनि बैठकले गरेको छ। उक्त भेलाको मिति चाँडै तय गरिने जनाइएको छ। त्यस्तै, नेताकर्मीदरम्यान रहेको अन्यौलता अन्त्य गर्न सबैले पहल गर्ने निर्णय बैठकले गरेको छ।

भुसाल माओवादी केन्द्र र विप्लवसँग सहकार्यको तयारी 

एकीकृत समाजवादी पुनर्गठन पक्षका संयोजक भुसालले नेकपा (माओवादी केन्द्र) का तत्कालीन नेता जनार्दन शर्मा र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग सहकार्य गर्ने सहमति जनाएका छन्।

गत शुक्रबार भएको भेटवार्तामा उनीहरूबीच वाम एकताको आधार तयार पार्ने र वैचारिक तथा संगठनात्मक सहकार्य अघि बढाउने समझदारी भएको स्रोतले जनाएको छ।

भुसाल पक्षले यस सहकार्यलाई आगामी राजनीतिक पुनर्संरचनाको प्रारम्भिक कदमका रूपमा लिएको बताएको छ। पार्टी पुनर्गठनको प्रक्रियासँगै वाम एकताको नयाँ सम्भावनाबारे पनि छलफल तीव्र हुने जनाइएको छ।