शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पार्टी पुनःगठन चाहियो भने गरौँ, काम नगर्ने विदा होस् : अध्यक्ष ओली

शनिबार, कार्तिक २२ २०८२

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पुनःगठनको माग तीव्र बनेपछि आगामी महाधिवेशन एक वर्ष अघि सारिएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित विद्वत वर्गसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीभित्र अनुशासनहीन ढंगले उपद्रव मच्चाउनेहरूकै कारण एक वर्षपछि गर्ने भनिएको महाधिवेशनलाई अघि सारेको स्पष्ट गरे ।

उनले पार्टीभित्र पुनःगठन गर्न आफूलाई कुनै आपत्ति नरहेको बताउँदै भने, “काम गर्नेहरू पार्टीमा रहन्छन्, नगर्नेहरू अब विदा हुनेछन् ।” सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत अनावश्यक टिप्पणी गर्ने प्रवृत्तिको आलोचना गर्दै ओलीले भने, “मिडियामा गएर र्‍याईंर्‍याईं गर्नुको औचित्य छैन, अहिलेको बेला संसद् पुनःस्थापना र प्रतिक्रियावादविरुद्ध लड्ने हो ।”

अध्यक्ष ओलीले पार्टीभित्र एक समय सदस्यसमेत नरहने नेताहरुलाई समेत ल्याएर उपाध्यक्ष बनाएको स्मरण गर्दै केही नेताले ‘कराँते सिक्ने काम आफ्नै टाउकोमा गर्ने’ शैलीमा राजनीति गरिरहेको टिप्पणी गरे । उनको भनाइ उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराईतर्फ लक्षित थियो ।

त्यसैगरी, ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा पुनःस्थापना गर्नुपर्ने माग पनि अघि सारे । उनले असंवैधानिक ढंगले संसद् विघटन गर्ने राष्ट्रपतिले नै पुनःस्थापना गर्नुपर्ने तर्क गर्दै भने, “जसले विघटन गर्छ, उसैले पुनःस्थापना गर्नुपर्छ — अदालतले नगरे भने राष्ट्रपतिले गर्नुपर्छ ।”

अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा सबै नेपाली जनता आन्दोलित हुनुपर्ने आह्वान गर्दै हालको सरकार असंवैधानिक भएकाले यसको कुनै राजनीतिक हैसियत नभएको पुनः दोहोर्याए ।

Is this convers