काठमाडौं । नेपालमा आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णय कायान्यवन नगर्न सर्वाेच्च अदालतले बुधबार अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले असार १८ मा मन्त्रिपरिषदले विषादी परीक्षण नगरी नै आयात खुला गरेको निर्णय कार्यान्वयमा तत्कालका लागि रोक लगाउन भनेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २ असारमा नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरी ‘निकासी पैठारीसम्बन्धी आदेश’ राजपत्रमा प्रकाशित गरेको थियो । तर, १८ असारमा सरकारले तयारी नपुगेको भन्दै विषादी परीक्षण गर्ने निर्णय आफ्नै निर्णय फिर्ता लिएको थियो ।
यसअघि काठमाडौंस्थित भारतीय दूतावासले विषादी परीक्षणको विरोध गर्दै मन्त्रालयमा पत्रसमेत पठाएको थियो ।
यसै सन्दर्भमा मंगलबार दर्ता भएको रिटमाथि बुधबार सुनुवाइ गर्दै सर्वोच्चले तत्काल विषादी परीक्षण नगर्ने सरकारको निर्णय उपभोक्ता संरक्षण ऐन २०७५ र मुलुकी अपराध संहिता २०७४ विरुद्ध रहेको वा नरहेको प्रश्न उठेको बताएको छ ।