काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भ्रष्टाचारविरोधी अभियानमा आफू सधैं सहमत रहे पनि भदौ २४ गते भएको तोडफोड र आगजनीमा आफ्नो घर लक्षित भएकोमा दु:ख व्यक्त गरेका छन्।
आगजनीपछिको अनुभव सामाजिन सञ्जालमार्फत सार्वजनिक गर्दै उनले पारिवारिक, शैक्षिक र राजनीतिक यात्राका स्मरणीय पाटाहरू र हालको क्षतिका बारेमा विस्तृत जानकारी दिएका छन्।
पोखरेलले बताएअनुसार उनले १६ वर्षको उमेरमा (२०३७ साल) शिक्षाका लागि घर छोडेका थिए र बनारसमा अध्ययनरत रही राजनीतिक सक्रियतामा संलग्न भएका थिए। राजनीति र पढाइ सँगसँगै अगाडि बढेको त्यस यात्राले त्रिभुवन विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्ने अवसर दिएको उनले स्मरण गरे।
भदौ २४ गतेको घटनाले पोखरेल र उनकी बहिनी सुजिताको काठमाण्डौ र दाङमा रहेका दुई घर पूर्णरूपले नष्ट भएका छन्। घरमा सङ्गालिएका व्यक्तिगत कागजात, राजनीतिक–सामाजिक स्मृति र छोराछोरीका अध्ययन सामग्री जलेर नष्ट भएको र त्यसपछि लामो समयसम्म साथीहरूको आतिथ्यमा बस्नु परेको उनले उल्लेख गरेका छन्।
पोखरेलले भनेका छन्— आफू र परिवारले सधैं पारदर्शिता र आर्थिक अनुशासन अपनाउँदै आएको बताउँदै भ्रष्टाचारविरोधी भावनालाई सम्मान गर्ने तर हिंसात्मक तोडफोड, लुटपाट र आगजनीलाई गम्भीर अपराध र लोकतन्त्र कमजोर पार्ने प्रयासको रूपमा देखेको पनि औँल्याए। उनले घटनामा संलग्न आपराधिक र स्वार्थी तत्वप्रति घृणा व्यक्त गर्दै राज्यले आवश्यक अनुसन्धान गर्ने विश्वास व्यक्त गरेका छन्।
पोखरेलले जेन्जी आन्दोलनका वास्तविक र स्वच्छ आकांक्षाहरूप्रति समर्थन जनाए— र आन्दोलनको नाममा भएका अवैध क्रियाकलापप्रति कडा असहमति राखे। उनले आफ्ना विरोधकर्तालाई चुनौती दिँदै भने— भ्रष्टाचारविरोधी मापदण्डमा कसैसँग तुलना गर्न चाहने भए आफूले आफूलाई परिक्षणमा ल्याउन तयार रहेको पनि व्यक्त गरे।