काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि चयनको तयारी सुरु भएको छ। पार्टीले प्रतिनिधि चयनका लागि क्षेत्रगत मापदण्डसहितको अन्तरपार्टी निर्देशन जारी गरेपछि मातहतका कमिटी र सङ्गठनले तयारी थालिसकेका छन्।
एमाले सचिवालयका अनुसार, महाधिवेशनको प्रतिनिधि चयन देशभर मङ्सिर १३ गते एकसाथ हुने छ। आगामी मङ्सिर २७–२९ मा काठमाडौँमा हुने महाधिवेशनका लागि कुल २,१२७ प्रतिनिधि कायम गर्ने निर्णय सचिवालयले कात्तिक १५ गतेको बैठकमा गरेको थियो।
केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार पार्टी सदस्यताको सङ्ख्यालाई ध्यानमा राखेर विभिन्न क्षेत्र छुट्याइएर प्रतिनिधि चयनको मापदण्ड तय गरिएको छ। मातहतका जिल्ला कमिटी र जनसङ्गठनले उक्त मापदण्ड अनुसार सम्पर्क र समन्वय सुरु गरेका छन्।
महाधिवेशनमा केन्द्रीय कमिटीबाट ३५५, अनुशासन आयोगबाट २९, केन्द्रीय निर्वाचन आयोगबाट ३०, लेखा आयोगबाट २५ र केन्द्रीय सल्लाहकार परिषद्बाट २५ प्रतिनिधि रहने गरी ४६४ प्रतिनिधि रहनेछन्।
प्रदेशस्तरीय कमिटीबाट कम्तीमा दुई महिलासहित पाँचका दरले ४५ प्रतिनिधि, १६५ सङ्घीय निर्वाचन क्षेत्रबाट १,१३५ प्रतिनिधि सहभागी हुनेछन्। प्रत्येक निर्वाचन क्षेत्रमा एक हजार २०० पार्टी सदस्य बराबर ४० वर्ष मुनीका एक युवा र एक महिलासहित चार प्रतिनिधि रहने व्यवस्था गरिएको छ।
न्यूनतम सदस्य सङ्ख्या आधारमा थप प्रतिनिधि व्यवस्थापन गरिनेछ। विशेष जिल्लाहरूमा एक हजार २०० सदस्यमा कम्तीमा एक महिलासहित तीन प्रतिनिधि, सदस्य ८०० बढी भएमा थप प्रतिनिधि रहनेछन्।
दलित आरक्षण अन्तर्गत कम्तीमा महिलासहित ८१, श्रमिकतर्फ ४० प्रतिनिधि, प्रवास कमिटीबाट तीन महिलासहित ३५ प्रतिनिधि, केन्द्रीय विभागबाट ३२ र जनसङ्गठनबाट १३७ प्रतिनिधि रहनेछन्। यसबाहेक, पार्टी केन्द्रले १०१ प्रतिनिधि मनोनित गर्ने व्यवस्था छ।