बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आफ्नै कम्पाउण्डमा डोजर चलाएपछि इटहरीका मेयरले भने,‘एक हजार घरमा डोजर चलाउछु’

बुधबार, असार २५ २०७६

सुनसरी । इटहरी उमहानगरपालिकाका विवादास्पद मेयर द्वारिकालाल चौधरीले आफ्नै घरको कम्पाउण्ड वाल एक्साभेटर लगाएर भत्काएपछि सहरका अरु एक हजार संरचनामा पनि डोजर चलाउने चेतावनी दिएका छन्  । 

 

इटहरी उपमहानगरपालिका–१७ स्थित पूर्व–पश्चिम राजमार्गमा रहेको घरको पर्खाल भत्काएर उनले सडक सुशासन थालेको बताएका छन् ।

 

मंगलबार पर्खाल भत्काउन उनले घरमै एक्साभेटर लगेका थिए । ‘विरोधीहरूले आफ्नो घर जोगाउन मेयरले सडक सुशासनलाई बेवास्ता र्गयो भनी प्रचार गरे,’ मेयर चौधरीले भने, ‘सडक सुशासन मबाटै सुरू भयो ।’

 

चौधरीको घर २०५८ सालमा बनाइएको थियो । त्यतिबेला सडक अनुशासन नभएको बेला घर बनाइएकाले थोरै जग्गा मिचिएको उनले बताए । यसैलाई लिएर मेयरले जग्गा मिचेको आरोप लागेपछि उनले भत्काएका हुन् ।

 

‘अहिलेको न्यूनतम् मापदण्ड १०५ फिट बाटो हो, मेरो घरको वालले दुई फिटजति छोएछ,’ उनले भने, ‘यहाँ ८२ फिटमा बनाइएका घरहरू छन् ।’ उनले सडक सुशासन आफ्नो घर अगाडि आएर रोकिएको भन्नेहरूले अब सुशासनको क्रान्ति कसरी देखिन्छ धेरै पर्खिरहनु नपर्ने बताए । ‘इटहरी नगरका एक हजार घरको लिस्ट बनाएको छु,’ उनले भने, ‘पाँच लाख जरिवाना तिराउँदै डोजर चलाउँछु ।’ उनले बाटो, खोला, नाला, सार्वजनिकस्थलको जताजता जग्गा मिचिएको छ त्यता डोजर चलाउने बताए ।

सार्वजनिक जग्गा मिच्ने एक हजार मान्छेलाई ‘कालोसूची’मा राखेको मेयर चौधरीले बताए।