बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

माधव नेपाल राजनीतिक भ्रष्टाचारी भएको किसान श्रेष्ठको आरोप

बिहिबार, कार्तिक २० २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीसँग एकीकरणमा समाहित नभएका एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले माधव नेपाल राजनीतिक भ्रष्टचारी भएको आरोप लगाएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै श्रेष्ठले एमाले फुटाएर एकीकृत समाजवादी बनाएका माधव नेपाल पार्टी नै सकाएर अन्त मिल्न गएकोमा उनले आक्रोश पोखे ।

बुधबार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत १० कम्युनिष्ट घटकहरु मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको छ । उक्त पार्टीमा नगएका नेता श्रेष्ठले आफूहरुले एमालेमा फर्किनका लागि कुनै पनि बार्गेनिङ नगरेको र गल्ती स्वीकार गरेर फर्किन लागेको बताए ।

‘बार्गेनिङ केही पनि भएको छैन । विना शर्त हामी जान्छौं । आफ्नो खुबी देखाउँछौं, जनता कहाँ जान्छौं । कार्यकर्ता कहाँ जान्छौं । आफ्नो कुरा गर्छौं, राख्छौं । गल्ती गरियो, माफ पाउँ भन्छौं,’–  श्रेष्ठले भने ।

एमालेसँग विद्रोह गरेर एकीकृत समाजवादी बनाउनु गल्ती भएको उनले बताए । उक्त विद्रोहलाई पुष्टि गर्न नसकेपछि माधवकुमार नेपालले पार्टी अन्तै लगेर मिसाइदिएको उनले बताए ।

एमालेमा फर्किसकेपछि कुनै किचलो र अर्को बबण्डर नगर्ने पनि उनले बताए ।

‘त्यो बेलामा विद्रोह गर्न आवश्यकता थियो । त्यो विद्रोह गल्ती रहेछ । गल्ती स्वीकार गरियो । त्यो विद्रोहलाई पुष्टि गर्न सकिएन । पुष्टि गर्न नसकेपछि माधव कमरेडले लगेर पार्टी एकतिर मिलाइदिनुभयो । त्यहाँ जान सकिएन । गल्ती स्वीकार गरियो, आफ्नै मूल घरमा फर्किन्छौं,’– उनले भने ।