काठमाडौं । सहकारी ठगी आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा आज उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सुनुवाइ हुँदैछ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश बासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा दुवै प्रतिवादीको मुद्दाको सुनुवाइ हुने जानकारी दिइएको छ।
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा लामिछाने पुर्पक्षका लागि थुनामा छन्। उनले सहकारीमा अपचलन गरेको आफ्ना भागको बिगो रकम दाखिला गर्दा पनि जिल्ला अदालत रुपन्देहीले साउन २६ मा रिहा गर्न अस्वीकार गरेको थियो। त्यसपछि लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दिएका थिए।
सुनुवाइअघि उच्च अदालतले दुवै मुद्दालाई एकसाथ राख्ने आदेश दिएको थियो। उक्त सहकारी ठगीमा रवि लामिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगोमा राखी अभियोग पत्र दायर गरिएको छ। लामिछानेले आफ्नो भागको चारमध्ये एक भाग बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत दाखिला गरेका छन्। जोशीले पनि उस्तै रकमको जमानत पेश गरेका थिए।
तर, दुवै प्रतिवादीको भागमा कति बिगो कायम हुने निश्चित नभएकाले रिहा गर्न नमिल्ने आदेश जारी भएको थियो। हाल दुवै पुर्पक्षका लागि कारागारमै छन्।