काठमाडौँ । एकीकृत समाजवादी की नेता रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो यात्रा टुंगिएको बताएकी छन्।
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले पार्टी विघटनसँगै आफूहरूको यात्रा पनि समाप्त भएको स्पष्ट पार्दै भनिन्,“नेकपा एकीकृत समाजवादी निर्माणका प्रारम्भका दिनहरूमा हामी एउटा भयंकर अभियान चल्छ भन्ने विश्वासका साथ लागेका थियौं। त्यो अब समाप्त भएको छ। हाम्रो समाजवादी पार्टीसँगको यात्रा, त्यो पार्टी विघटनसँगसँगै टुंगियो।”
माधव कुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरे पनि रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरूले निर्णयमा विमति जनाएका थिए।
अब यो यात्रा टुंगिएकोमा आफू खुशी नै भएको उनले बताइन् । यो यात्रा अवरुद्ध छ भन्ने धेरै पहिले थाहा पाए पनि विभिन्न प्रतिबद्धताका कारण निर्णय लिन समय लागेको प्रष्ट पारिन् ।
झाँक्रीले भनिन्, “जब हाम्रो बाटो अवरुद्ध हुन्छ, त्यतिबेला अगाडि कसरी बढ्ने भनेर बाटोमा उभिनुपर्छ। यात्रालाई पज गर्नुपर्छ र त्यसपछि उपयुक्त मार्ग प्रशस्त गरेर यात्रा अगाडि बढाउनुपर्छ।”