काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले नेकपा एमालेमा नि:शर्त फर्किन लागेको बताएका छन् । उनले एकताभन्दा पनि पसिना बगाएको मूल घर फर्किन लागेको बताए ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीकी नेतृ रामकुमारी झाँक्रीसहित कुनै शर्त बिना एमालेमा फर्किने इच्छा व्यक्त गरे।
श्रेष्ठले भने,“हामी घर फर्किने क्रममा नेकपा एमालेसँग वार्ता–संवादमै छौँ। हामी कुनै पदको लागि होइन, निःशर्त घरमा फर्किंदै छौँ। हामीलाई केही चाहिएको छैन, मूल घरमा हाँसेर बोलिदिए र सम्मानजनक व्यवहार गरिदिए पुग्छ।”
उनले स्पष्ट पार्दै भने – आफू र साथीहरू पसिना बगाएको, जीवन अर्पण गरेको पार्टी एमालेमा फर्कन चाहन्छन् र यस अभियान पद वा फाइदाको लागि नभई आफ्नो मूल घरमा फर्किने उद्देश्यले अगाडि बढिरहेको छ।
एमाले नेताहरूले उनीहरूलाई सम्मानजनक व्यवहार गरे मात्र पनि उनीहरूलाई पर्याप्त हुने श्रेष्ठले बताए ।