काठमाडाैं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी फर्कन लागेकाहरूलाई सुझाव दिँदै अमुक नेतालाई जिताउनै पर्ने पूर्वशर्त स्वीकार गर्ने या नगर्ने यो विवेकको विषय भएको बताएका छन्।
भट्टराईले समाजवादी दलबाट एमालेमा समाहित हुन लागेकाहरूलाई सामाजिक सञ्जालबाट स्वागत गर्दै भने,“पार्टी अध्यक्ष, महासचिव लगायत हामी सबैले तपाईंहरूलाई एमालेमा समाहित हुन आह्वान गरिसकेका छौँ। तपाईंहरूलाई स्वागत गर्न हामी तयार छौँ। जनताको बहुदलीय जनवादप्रतिको प्रतिबद्धता नै हाम्रो एकताको मुख्य आधार हो।”
उनले स्पष्ट पार्दै भनेका छन्-“नीति र नेतृत्व स्वीकार गर्नु पर्ने शर्त पनि सुनियो। नीति र नेतृत्वलाई अस्वीकार गरेर सहकार्य कसरी हुन्छ र? यो भनिरहनु पर्ने विषय होइन। हाम्रो साझा प्रयत्नले यसलाई थप परिष्कृत र समृद्ध बनाउने हो।”
भट्टराईले पार्टीको ११ औँ महाधिवेशनको मिति उल्लेख गर्दै महाधिवेशन पूर्व नीति र नेतृत्वको बहस गर्ने वैधानिक अभ्यास पाँचौ महाधिवेशनदेखि स्थापित भएको जानकारी दिएका छन्।
सचिव भट्टराईले जोड दिँदै भनेका छन्-“एमालेमा समाहित हुनु कुनै शर्तभन्दा माथिको महत्वको सवाल हो। कुन नेतालाई फाइदा हुन्छ वा हुँदैन, कुन नेताले जित्छ वा हार्छ, यो गौण हो। हाम्रो सहकार्यले नेपाल राष्ट्र, नेपाली जनता र नेकपा एमालेले जित्नु पर्छ। त्यसका लागि हामी हजार पटक हार्न पनि तयार छौँ। स्वागत छ, कमरेडहरू।”