काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले आज ललितपुरको बखुण्डोलस्थित सत्कार क्याफेमा दिउँसो साढे २ बजे विशेष पत्रकार सम्मेलन गर्दैछन्।
माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरुसँगको एकता प्रक्रियामा असहमति जनाउँदै आएका शर्माले उक्त पत्रकार सम्मेलनमार्फत वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्ने तयारी गरेका हुन्।
माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत आठ घटकबीच यही कात्तिक १६ गते पार्टी एकता गर्ने सहमति भएको थियो र कात्तिक १९ गते काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा सभा आयोजना गर्ने तयारी भइरहेको छ।
तर, माओवादी केन्द्रले विभिन्न दलहरुसँग एकता गर्ने निर्णय गरेपछि नेता शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी आफू नयाँ पार्टीमा नबस्ने स्पष्ट बताएका थिए।