बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

इलाममा बाढीपहिरोले ११ अर्ब ८१ करोडको क्षति पुर्‍याएको अनुमान

मंगलबार, कार्तिक १८ २०८२

इलाम . इलाममा असोज १८ र १९ गतेको अकल्पनीय वर्षापछि आएको बाढीपहिरोले रु ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार ७०३ बराबरको व्यापक क्षति पुर्‍याएको छ। जिल्लास्थित सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी र कृषिजन्य क्षेत्रमा परेको प्रारम्भिक मूल्यांकन जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको छ।

जिल्ला प्रशासनका अनुसार ३९ जनाको ज्यान गएको, २६ जना घाइते भएका, र १ जना अझै बेपत्ता छन्। बाढीका कारण ७११ घरपरिवार विस्थापित भएका थिए, जसमा ७०० परिवार आफन्तको घरमा र ११ परिवार सामुदायिक भवनमा बसिरहेका छन्। जिल्लाका १० स्थानीय तहमा ३६५ घर पूर्ण र ९४० घर आंशिक रूपमा क्षतिग्रस्त भएका थिए।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले क्षतिको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र सम्बन्धित विषयगत मन्त्रालयमा पठाइसकेको जानकारी दिइन्।

प्रमुख क्षेत्रगत क्षति विवरण:

सडक: ११ आयोजना प्रभावित, रु ८ अर्ब ९६ करोड ४५ लाख

पूर्वाधार विकास: ६२ सडक, २५ पुल, ६ भवन, कुल रु ९३ करोड ५९ लाख

नेपाल विद्युत् प्राधिकरण: ५ आयोजनाको एचटी/एलटी लाइन र ट्रान्सफर्मर, रु २ करोड ४७ लाख

जलस्रोत तथा सिँचाइ: १६ नदी नियन्त्रण, ५ पहिरो नियन्त्रण, ७२ सिँचाइ आयोजना, कुल रु ३२ करोड ९२ लाख

पशुपन्छी: २,५२० जनावर र २४४ गोठ/पोखरीमा रु ४ करोड ३३ लाख

खानेपानी: २९ + २ सय २३ आयोजनामा रु ५६ करोड ७६ लाख

कृषि: ३,४०९ किसान, ८९२.३२ हेक्टर क्षेत्र, रु २७ करोड ५० लाख; चिया बगानमा रु ४ करोड ७६ लाख

अन्य: नेपाल टेलिकम, सिँचाइ/जलस्रोत व्यवस्थापन, रु ३२ करोड ९० लाख