काठमडाैं । नेकपा (एमाले) का नेता विष्णु रिजालले सरकारले राजदूत फिर्ता बोलाउने निर्णय र त्यसमा अदालतको हस्तक्षेप दुवैलाई गल्ती ठहर गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन्, ‘राजदूत फिर्ता प्रकरणमा एकै पटक दुई गल्ती भएका छन्।’
रिजालका अनुसार पहिलो गल्ती ६ महिने म्यादी सरकारले मुलुकको प्रतिष्ठा ख्याल नगरी राजदूतमाथि जाइलागेर असहिष्णुता देखाउनु हो। दोस्रो गल्ती भने अदालतले सरकारले फिर्ता बोलाइसकेका राजदूतलाई थमौती दिनु हो।
उनका अनुसार यस्तो अवस्थामा ती राजदूत अब ‘सरकारका नभई अदालतका विश्वास प्राप्त प्रतिनिधि’ भएका छन्।
रिजालले दोहोरो खेलबाडले नेपालको कूटनीति विश्वमै मजाक बनेको र देशको प्रतिष्ठामा धक्का पुगेको बताएका छन्।
साथै, उनले फिर्ता बोलाइएका राजदूतहरूलाई परिस्थिति बुझेर जिम्मेवार व्यवहार गर्न पनि आग्रह गरेका छन्।