शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू बैठकमा

सोमबार, कार्तिक १७ २०८२

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले नयाँ वानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा बैठक गर्दै पार्टीको सुधार र आगामी निर्वाचन तयारीबारे छलफल गरेका छन्।

भेलामा पार्टीको कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू सहभागी थिए।

सहभागी नेताहरूमा पूर्वमन्त्री वीरबहादुर बलायर, सीता गुरुङ, शङ्कर भण्डारी, मीन विश्वकर्मा, दवेन्द्रराज कँडेल, किरण पौडेल, नागिना यादव, महिन्द्रा लिम्बु, गुरु बराल र नैनसिंह महर रहेका छन्। विश्वकर्मा पार्टीको प्रचार विभाग प्रमुख पनि हुन्।

केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार, बैठकमा छलफल मुख्य रूपमा केन्द्रीय समितिलाई प्रभावकारी बनाउने उपाय र पार्टीलाई अहिलेको महाधिवेशन मिति विवाद तथा अनिर्णयको संकटबाट कसरी निकास दिने भन्नेबारे केन्द्रित थियो।

महरले भने, “जारी केन्द्रीय समितिलाई कसरी प्रभावकारी बनाउने, कसैले विशेष महाधिवेशन भन्नु, कसैको नियमित महाधिवेशनको मितिसँग मिल्दैन भन्ने समस्या समाधान गर्ने उपायबारे छलफल गरिरहेका छौँ।”

केन्द्रीय सदस्य शङ्कर भण्डारीले पनि पार्टीको अनिर्णयको बन्दी बनेको केन्द्रीय समितिलाई सक्रिय बनाउने उपायमा छलफल भइरहेको जानकारी दिए।

भेलाका सहभागीहरूले आगामी फागुन २१ गतेका लागि सरकारले घोषणा गरेको निर्वाचन सफल बनाउन पार्टीले तत्काल संस्थागत निर्णयहरू लिन दबाब दिने तयारी गर्ने निर्णय गरेका छन्।

त्यसैगरी, बैठकमा पार्टी कार्यालयमा बुझाइएका हस्ताक्षरहरूको भेरिफिकेसन गरी नेतृत्वलाई सुझाव दिने तयारी पनि गरिएको छ।