बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

विप्लवका कार्यकर्ताको गोली प्रहारबाट प्रहरीको मृत्यु, विप्लव कार्यकर्ता पनि मारिए

बुधबार, असार २५ २०७६

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको कार्यकर्ताको गोली लागेर प्रहरीको मृत्यु भएको छ । बुधबार बिहान भोजपुर बजारको हटिया लाइन क्षेत्रमा प्रहरीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गरेको हो ।  

महानिरिक्षक कार्यालयका एसपी रमेश थापाका अनुसार विप्लव कार्यकर्ताको गोली लागेर मारिनेमा प्रहरी जवान सन्जिव राई रहेका छन् । गोली लागेका उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

प्रहरीले प्रतिकार गर्दा एक जना विप्लव कार्यकर्ताको पनि मृत्यु भएको छ । मारिनेमा नीरकुमार राई रहेको प्रहरीले जानकारी दिएको छ । थापाका अनुसार त्यस क्षेत्रमा विप्लवका कार्यकर्ताहरु आएको सूचनाको आधारमा प्रहरीले त्यस क्षेत्रमा गस्ती बढाएको थियो । 

आज बिहान प्रहरी र विप्लवका कार्यकर्ता आमनेसामने हुने बित्तिकै उनीहरुले प्रहरीमाथि गोली प्रहार गरेका थिए । लगत्तै प्रहरीले जवाफी फायर गरेको थियो ।

जसमा एक जना विप्लव कार्यकर्ताको मृत्यु भएको थियो । मारिने राई ओखलढुंगा इन्जार्च समेत रहेको प्रहरीको भनाई छ । अन्य भने त्यहाँबाट भाग्न सफल भएका थिए ।

प्रहरीले घटनास्थलबाट चाइनिज पेस्तोल र चार राउण्ड गोलीसमेत बरामद गरेको छ।  प्रहरीमाथि आक्रमण भएपछि अहिले त्यहाँको सुरक्षा कडा पारिएको छ ।