बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै

सोमबार, कार्तिक १७ २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज कतारको औपचारिक भ्रमणमा प्रस्थान गर्दैछन्। परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेल कात्तिक १८ देखि २० गतेसम्म दोहामा आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुनेछन्।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुन लागेका हुन्। उनको भ्रमणमा श्रीमती सबिता पौडेल, राष्ट्रपतिका सञ्चार विज्ञ किरण कुमार पोखरेल, राष्ट्रपति कार्यालयका सचिव तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू समेत सहभागी हुनेछन्।

राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। संयुक्त राष्ट्रसंघको महासभाको निर्णयअनुसार आयोजना गरिएको यस सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम बिन हमद अल थानी, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लगायत विभिन्न विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने तालिका पनि तय गरिएको छ।

सामाजिक विकासका लागि पहिलो विश्व शिखर सम्मेलन सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा सम्पन्न भएको थियो। संयुक्त राष्ट्रसंघमा सन् १९५५ मा सदस्य बनेको नेपालले शान्ति, विकास र स्थायित्वका लागि सधैं सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

कतार भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।