बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बाजुरामा बस दुर्घटनाः उपचारका क्रममा सहचालकको मृत्यु

आइतबार, कार्तिक १६ २०८२

बाजुरा ।  शनिबार मार्तडी–कोल्टी सडकखण्डमा भएको बस दुर्घटनामा घाइते भएका २४ वर्षीय गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ। जोशी बैतडी जिल्ला दशरथचन्द्र नगरपालिका–९ का बस सहचालक हुनुहुन्थ्यो।

जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायब उपरीक्षक गगनसिंह भाटका अनुसार, दुर्घटनापछि घाइतेको अवस्था जटिल भएपछि थप उपचारका लागि धनगढी पठाइएको थियो। अस्पतालमा उपचारका क्रममा शनिबार राति १० बजे उनकाे मृत्यु भएको हो।

बस दुर्घटनामा परी अन्य आठ जनालाई पनि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएको जिल्ला अस्पताल बाजुराले जनाएको छ। उनीहरूमा स्वामीकार्तिक खापर–३ का २३ वर्षीय विशाल शाही, बूढीनन्दा–६ का १९ वर्षीय उमेश भाट, सोही नगरपालिका–५ का २४ वर्षीया जमुना मल्ल र सात वर्षीया लक्ष्मी मल्ल, बूढीगङ्गा–९ का २२ वर्षीया पवित्रा सिंह र उनकी दुई वर्षीया छोरी जेनिशा सिंह, पाँच वर्षीया पल्ले सिंह, जेसिका सिंह र बूढीनन्दा–७ की ४५ वर्षीया इसरा देवी सुनार समावेश छन्।

प्रहरीका अनुसार कोल्टीबाट धनगढीका लागि छुटेको सुपप्र ०१–००१ ख ३१८१ नम्बरको बस सडकमा रोकिएर सामान छतमा राख्दा अचानक पछाडि गएर दुर्घटना भएको थियो। दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ र घटनाको थप अनुसन्धान जारी छ।