काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलक्षित कटाक्ष गरेका छन्।
हाल बालेन शाहको विवादास्पद फेसबुक स्टाटसको आलोचना भइरहेको बेला मन्त्री पुनले आफ्नो फेसबुकमा लेख्दै अप्रत्यक्ष रूपमा बालेनमाथि व्यङ्ग्य गरेका हुन्। उनले लेखेका छन्-“केही केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले बेला–बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ। सर्को ताने पनि केही छैन, तर सर्को तानेको बेला केही पनि नबोल्न र नलेख्न अनुरोध छ।”

मन्त्री पुनको उक्त टिप्पणी बालेन शाहको पछिल्लो फेसबुक पोस्टसँग जोडिएको रुपमा लिइएको छ। हिजो मात्र मेयर शाहले सामाजिक सञ्जालमा एक विवादित स्टाटस लेखेका थिए, जुन केही मिनेटमै उनले डिलिट गरेका थिए। त्यसपछि उक्त स्टाटस सामाजिक सञ्जालभर भाइरल बनेको थियो।
यस्तै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि त्यस प्रसंगमा टिप्पणी गर्दै लेखेका छन् – “मन पर्ने मान्छेको पादै मिठो ! मन नपर्ने मान्छेले मुटु नै झिकेर दिँदा पनि हेलाहोचो ! मैले त्यो शब्द लेखेको भए के हुन्थ्यो होला ! अचेत जिन्दगीको जय होस्!”
शाहको स्टाटस र त्यसपछि आएका यी प्रतिक्रियाहरूले राजनीतिक र सामाजिक वृत्तमा व्यापक चर्चा निम्त्याएका छन्।