शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

अध्यक्ष ओलीको आह्वान : ‘एमाले हाम्रो साझा घर हो, फर्किनुहोस्’

शनिबार, कार्तिक १५ २०८२

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी छोडेर अन्य दलमा आवद्ध भएका पूर्व–सहकर्मीहरूलाई एमालेमै फर्किन आह्वान गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा “एमाले केवल एउटा राजनीतिक संगठन होइन, यो जनताको रगत, पसिना र आशाबाट बनेको विशाल परिवार हो” भन्दै सबैलाई “आफ्नो घर फर्किन” आग्रह गरेका हुन् ।

अध्यक्ष ओलीले लेखेका छन्, “निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा नेकपा (एमाले) सधैं अग्रपंक्तिमा रह्यो। अनेकौं प्रहार सहँदै राष्ट्रिय स्वाधीनता जोगाउने बलियो कवच यही पार्टी बनेको छ।”

उनका अनुसार, तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण, संघर्ष र बलिदानबाट एमालेलाई आजको अवस्थामा पुर्‍याएका छन् । “कतिले जेलयातना भोगे, कतिले जीवन बलिदान गरे, कतिले युवावस्था आन्दोलनमा अर्पण गरे, अनि धेरैले सानो–ठूलो योगदान गरेर यो घरलाई अड्याए,” ओलीले स्मरण गरेका छन् ।

देश र लोकतन्त्रमाथि पुनः चुनौती खडा भएको दाबी गर्दै उनले राष्ट्रिय एकताको आवश्यकता औंल्याएका छन् । “आज फेरि महाविनाश निम्त्याउने वातावरण बनाइएको छ, लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ। यस्तो बेला मौन बस्न मिल्दैन,” ओलीले भनेका छन्, “राष्ट्रिय स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ।”

उनले विगतमा एमाले निर्माण र सुदृढीकरणमा योगदान पुर्‍याएका सबै नेता तथा कार्यकर्तालाई पार्टीमा फर्कन आह्वान गर्दै लेखेका छन्, “विगतमा नेकपा (एमाले)लाई बलियो बनाउन सँगै हिँड्नुभएका सबैलाई म हृदयदेखि आह्वान गर्छु — यो साझा घरमा फर्कौं, पुनः एकताबद्ध भएर देश र जनताको सेवामा लागौं।”

ओलीले आह्वान गर्दै लेखेका छन्,

‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्।

यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो।

फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं ।

देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं।

हामी एउटै परिवार हौं ।

हाम्रो लक्ष्य स्पष्ट छ ।

समृद्ध नेपाल, सुखी नेपाली।

म सबैमा आह्वान गर्न चाहन्छु ।

कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा ।

हाम्रो साझा सपना साकार पार्न ।

निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं।’