काठमाडौं । नेकपा (एकीकृत समाजवादी)भित्र माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रियाले गम्भीर आन्तरिक विवाद निम्त्याएको छ । अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको नेसपाससँग एकता गर्ने निर्णय गरेपछि पार्टी पुनः विभाजनको संघारमा पुगेको छ ।
अध्यक्ष नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच लामो समयदेखि चलिरहेको एकता प्रयास अब अन्तिम चरणमा पुगेको बताइन्छ । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दुवै दलबीच एकता तयारी अघि बढेको हो । शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले एकता प्रस्ताव प्रस्तुत गरेपछि हलले ताली बजाएर अनुमोदन गरेको थियो ।
तर, यो निर्णयपछि पार्टीभित्र तीव्र मतभेद उत्पन्न भएको छ । अध्यक्ष नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे एकताको पक्षमा रहेका छन् भने सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल स्पष्ट रूपमा विरोधमा उत्रिएका छन् । केन्द्रदेखि स्थानीय तहसम्म नेता–कार्यकर्ता एकताको पक्ष र विपक्षमा विभाजित भएका छन् ।
बैठकमा बोल्न नपाएको भन्दै झलनाथ खनालले अध्यक्ष नेपालप्रति असन्तुष्टि जनाउँदै नयाँ पार्टी पुनर्गठनको घोषणा गरेका छन् । “विद्रोहदेखि विसर्जनसम्म माधव कमरेडको यात्रा टुङ्गियो,” उनले भने, “हामी यही पार्टीका साथीहरू मिलेर एकीकृत समाजवादी पुनर्गठन गर्छौं, नभए नयाँ बनाउँछौं।”
खनालले नेपालमाथि ‘तानाशाही प्रवृत्ति’ देखाएको आरोप पनि लगाएका छन् । उनी बैठक हल छाडेर बाहिरिएपछि बैठकमा केही समय तनाव सिर्जना भएको थियो ।
संस्थापन पक्षसँग बहुमत रहेकोले माओवादीसँग एकता गर्ने निर्णय पारित हुने सम्भावना बलियो देखिन्छ । तर, विपक्षी खेमाले राष्ट्रिय भेला बोलाएर वैकल्पिक बाटो लिने तयारी थालेको छ ।
विपक्षी समूहका झलनाथ खनाल र महासचिव घनश्याम भुसालले अध्यक्ष नेपालको राजीनामा माग्दै पार्टी पुनर्गठनको अडान लिएका छन् । उनीहरूको भनाइमा, “माओवादीसँगको एकता होइन, वैचारिक स्पष्टता र आन्तरिक सुदृढीकरण नै अहिलेको आवश्यकता हो।”
२०७८ साल भदौमा एमाले फुटाएर बनेको एकीकृत समाजवादी चार वर्षमै पुनः विभाजनको स्थितिमा पुगेको छ । पार्टीका करिब ११ नेताले माओवादीसँग एकता नगर्ने घोषणा गरिसकेका छन् ।
एकताविरुद्ध उभिने नेतामध्ये झलनाथ खनाल, घनेन्द्र बस्नेत, घनश्याम भुसाल, विजय पौडेल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, धर्म निरौला, महेश रेग्मी, लक्ष्मण लम्साल, दामोदर अर्याल र अच्युत घिमिरे छन् । उनीहरू मध्ये केहीले एमालेमा फर्कने वा नयाँ वाम मोर्चा बनाउने विकल्पको तयारी गरिरहेका छन् ।
यससँगै, एकीकृत समाजवादी फेरि विभाजनको जोखिममा पुगेको छ भने वाम एकता प्रक्रियाको भविष्य अनिश्चित बनेको छ ।