काठमाडौँ। हालका गृहमन्त्री ओमप्रकाश अर्याललाई पदबाट हटाउने तयारी भइरहेको चर्चा व्यापक भएको छ।
राजनीतिक स्रोतका अनुसार, काठमाडौं महानगरका मेयर बालेन शाह यस प्रक्रियामा सक्रिय भूमिका निभाइरहेका छन्। योजना अनुसार अर्याललाई कानुन मन्त्रालयमा सार्ने र गृह मन्त्रालयमा नयाँ नेतृत्व नियुक्त गर्ने विषयमा छलफल भइरहेको छ।
यो विरोध केवल सामाजिक सञ्जालमा सीमित नभई राजनीतिक तनावको स्पष्ट संकेत हो।
गृहमन्त्री अर्याल स्वयं बालेनका पूर्व कानुनी सल्लाहकार हुन्। बालेनको मेयर कार्यकालको शुरुवाती चरणमा अर्यालले प्रशासनिक सुधार र कानुनी सल्लाहको भूमिका निभाएका थिए। तर, अर्याल गृहमन्त्री भएपछि उनका र बालेनको टोलीबीच सम्बन्ध तिक्त भएको बताइएको छ।
अर्यालविरुद्धको विरोध केवल राजनीतिक कूटनीतिमा सीमित नभई यसले जेनजी युवाहरु र सरकारमा पनि फाटो देखिएको छ। फेसबुक समूह “मेन्स रुम (रिलोडेड)” र “रुटिन अफ नेपाल बन्द (आरओएनबी)” लगायत प्लेटफर्ममा बालेन शाहका समर्थकहरूले गृहमन्त्रीको राजीनामाको माग गर्दै अभियान सुरु गरेका छन्।
आरओएनबी समूहका सञ्चालक भिक्टर पौडेल ले ‘लेट्स मेक अ ट्रेन्ड गाइज’ शीर्षकमा ह्यासट्याग अभियान सुरु गरेका छन्। पोस्टहरूमा “कायर गृहमन्त्री तुरुन्त राजीनामा गर”, “केपी ओलीका कुकुरसँग डराउने गृहमन्त्री हामीलाई चाहिँदैन” जस्ता अभिव्यक्तिहरू प्रयोग गरी तीव्र आलोचना गरिएको छ।
सामाजिक सञ्जाल अभियानले सरकारको प्रतिरक्षा प्रणाली सक्रिय बनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बिहीबार एक विज्ञप्ति नै जारी गरेर स्पष्ट पार्नु परेको छ ।
“माननीय गृहमन्त्री अर्याललाई हटाउन काठमाडौं महानगर प्रमुख बालेन शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चारमाध्यममा आएका विवरण भ्रमपूर्ण हुन्। मन्त्री नियुक्ति वा हटाउने अधिकार विशुद्ध प्रधानमन्त्रीज्यूको क्षेत्राधिकारमा पर्छ, कसैको दबाब वा प्रभावमा निर्णय हुन सक्दैन।”
विज्ञप्तिमा आन्दोलनको जनादेशअनुसार गठन भएको सरकार भएको र अर्याल आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको उल्लेख छ।
सामाजिक सञ्जाल र राजनीतिक दबाबबीच सरकारले खण्डन जारी गर्नु परेकोले गृहमन्त्री र सरकारको मनोबलमाथि प्रश्न उठ्न पुगेको स्रोतहरूले बताएका छन्।
प्रधानमन्त्री बनेयता सुशीला कार्कीलाई दुईपल्ट भेटिसकेका बालेनले चारवटा मुख्य सरोकार राखेका छन्, जसमा केपी ओली, रमेश लेखक र दुर्गा प्रसाईलाई समात्नुपर्ने माग प्रमुख छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा मेयर शाहले पनि गृहमन्त्री अर्यालप्रति असन्तुष्टि प्रकट गर्दै तात्कालिक राजीनामा माग गरेको बताइएको छ। तर सरकार स्रोतका अनुसार प्रधानमन्त्रीले हालका लागि यो माग अस्वीकार गर्दै विवाद समाधानका लागि संवाद मार्ग खोज्ने तयारी गरिरहेकी छिन्।
यस घटनाक्रमले सामाजिक सञ्जालदेखि राजनीतिक दबाबसम्म सरकार र गृहमन्त्रीको मनोबलमा प्रभाव पार्ने संकेत दिएको छ।