इलाम । निरन्तर वर्षाका कारण इलाम जिल्लामा मेची राजमार्ग र वैकल्पिक सडक दुबै बन्द भएका छन्।
कार्तिक १३ गतेदेखि परिरहेको अविरल वर्षाले मेची राजमार्गअन्तर्गत राजदुवाली सडकखण्डका विभिन्न भाग भासिँदै, चिरिँदै र दबिँदै गएपछि सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।
त्यस्तै, वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको तिल्केनी–सिमलगोलाई–शिल्पुर सडकखण्ड पनि पहिरोका कारण पूर्णरूपमा बन्द भएको छ। दुवै सडक खण्ड जोखिमपूर्ण भएकाले यात्रु र सवारी चालकलाई उक्त मार्ग प्रयोग नगर्न प्रशासनले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार अर्को सूचना जारी नभएसम्म यी मार्ग हुँदै सवारीसाधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लागू गरिएको छ।
प्रशासनले सडक विभाग, प्रहरी र स्थानीय तहसँग समन्वय गरी सडक सुचारु गर्न आवश्यक तयारी भइरहेको जनाएको छ।