शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

न्यायालयमाथि आक्रमण गरेर व्यवस्थालाई खल्बल्याउने षड्यन्त्र भयो : महासचिव पोखरेल

बिहिबार, कार्तिक १३ २०८२

दाङ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का महासचिव शङ्कर पोखरेलले जेनजी आन्दोलनका क्रममा घुसपैठ भई न्यायालय र प्रहरी प्रशासनमाथि गरिएको प्रहार योजनाबद्ध षड्यन्त्र भएको दाबी गरेका छन्।

प्रेस चौतारी नेपाल दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले न्यायालयमाथिको आक्रमण सामान्य घटना नभएको बताउँदै निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए।

“जेनजी प्रदर्शनका मागहरू जायज छन्, तर केही स्वार्थी तत्वहरूले आन्दोलनमा घुसपैठ गरी इतिहास मेटाउने प्रयास गरेका छन्,” उनले भने, “युवाको आकाङ्क्षा बुझेर सुशासन कायम गर्न सबै दलले सहकार्य गर्नुपर्छ।”

पोखरेलले प्रहरी र न्यायालयलाई दोषारोपण गर्नु गलत रहेको बताउँदै न्याय प्रणाली कमजोर पारेर देशलाई कमजोर बनाउने प्रयास भइरहेको टिप्पणी गरे ।

उनका अनुसार, प्रदर्शनका क्रममा प्रहरीका हतियार लुटिनु र कैदीबन्दी बाहिर रहनुले असुरक्षा बढाएको छ, जसले आम नागरिकमा भय र त्रास फैलाएको छ।

महासचिव पोखरेलले स्थानीय तहदेखि अदालत र सरकारी कार्यालयहरूमा भएको क्षतिलाई गम्भीर रूपमा लिएर भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रम प्रेस चौतारी नेपाल दाङ शाखाका अध्यक्ष शुधासुमन ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव निमुसङ्गम घर्तीले गरेका थिए ।