काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा नेता महेश बस्नेतले पार्टीभित्र नेतृत्व र आगामी निर्वाचनको अनुहारलाई लिएर वर्तमान परिस्थितिमा उब्जिएको प्रश्नमाथि प्रकाश पारेका छन्। अष्टलक्ष्मी शाक्यले ‘केपी ओली लिएर चुनावमा जान सकिँदैन’ भनी भनेको कुरामा प्रतिक्रिया दिँदै बस्नेतले सामाजिक सञ्जालमा आफ्नो भनाइ व्यक्त गरेका छन् ।
बस्नेतले एमालेभित्र अहिले उठेको प्रश्नलाई आगामी महाधिवेशनले उक्तर दिने बताएका छन् ।उनले भनेका छन्– आगामी निर्वाचनमा पार्टीको नेतृत्वको अनुहार केपी शर्मा ओली नै हुने कि, वा अष्टलक्ष्मी शाक्य, विद्या भण्डारी, युवराज ज्ञवाली, ईश्वर पोखरेल वा योगेश भट्टराईलाई लिएर अघि बढ्दा पार्टीका लागि लाभदायक हुनेछ।
उनले आगामी मङ्सिर २७–२९ गते पोखरामा हुने महाधिवेशनले यस विषयमा स्पष्ट निर्णय गर्ने बताउँदै भनेका छन् “सो अधिवेशनमा आफ्नो वैकल्पिक क्षमता देखाउन नसक्ने र खाली नेतृत्वको विरोध गर्ने नेताहरूको भविष्य अब स्पष्ट हुने छ,” बस्नेतले लेखेका छन्।
पार्टीभित्र नेताहरूको भूमिका पनि प्रश्नको विषय बनेको छ। उनीहरूले सधैं प्रभावकारी र सकारात्मक भूमिका खेल्दै आएका छन् कि, भित्रभित्र गुटबन्दी र अवसरको पर्खाइमा मौन बसेका मात्र छन् ? बस्नेतले सोधेका छन् ।
साथै, परिस्थिति प्रतिकूल बनेको बेला के अध्यक्ष ओलीलाई विस्थापित गरी पार्टी बदनाम गर्ने प्रयास भइरहेको हो, वा व्यक्तिगत लाभको खोजी भइरहेको हो भन्ने विषयमा आम कार्यकर्ताले विवेकपूर्ण निर्णय लिनुपर्नेमा उनले जोड दिएका छन्।