काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन दबाब दिएको भनिएको समाचारलाई असत्य ठहर गरेको छ।
सचिवालयले बिहीबार जारी गरेको विज्ञप्तिमा सञ्चार माध्यममा केही दिनदेखि आएका यस्ता समाचारप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ कि मन्त्री बनाउने वा हटाउने निर्णय प्रधानमन्त्रीको अधिकारक्षेत्रभित्र पर्ने विषय हो र कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन सक्दैन।
सचिवालयले जेनजी आन्दोलनबाट आएको जनादेशअनुसार असामान्य परिस्थितिमा सरकार गठन भएको र गृहमन्त्री अर्याल आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माण, शान्ति–सुरक्षा कायम राख्ने तथा सुरक्षा निकायहरूको मनोबल उच्च राख्ने कार्यमा निरन्तर खटिरहेको उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “विगत केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रमपूर्ण विवरणहरूप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको छ। यस्तो विषय विशुद्ध रुपमा प्रधानमन्त्रीको अधिकारक्षेत्रको हो र कसैको दबाब वा प्रभावमा निर्णय हुन सक्दैन।”
प्रधानमन्त्रीको सचिवालयले यस्ता संवेदनशील समयमा निराधार अफवाह फैलिन नदिन सबैसँग आग्रह गरेको छ।